Close This

गड्डाचौकी भएर आउने विदेशी पर्यटकको सङ्ख्या न्यून

सोमबार जेठ ३०, २०७९/ Monday 06-13-22
रासस

कञ्चनपुर, ३० जेठ । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

कोरोना महामारीका कारण सीमानाका हुँदै आउने पर्यटकको सङ्ख्या घटेको हो । अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी पदमराज भट्टका अनुसार जनवरीमा १७, फेबु्रअरीमा ७, मार्चमा २९, अप्रिलमा २२ र मेमा २२ जना पर्यटक सीमानाका भएर भित्रिएका छन् ।

सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या भने शुन्य रहेको छ । “नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकतोक गरेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बरदेखि हालसम्म जान दिएको छैन । केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्”, उनले भने,

गत वर्षको यही अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या भने शुन्य रहेको थियो । कोरोनाको सङ्क्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमानाका हुँदै आउन थालेका छन् ।सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम रहेको छ”, सूचना अधिकारी भट्टले भने, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन् । पुनःभारत फर्कनका लागि उनीहरुले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइने गरेको छ । जसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको भिसाका लागि १२५ डलर शुःल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य रहेको थियो । अगष्टदेखि डिसेम्बर सम्म ५८ जना पर्यटक मात्रै भित्रिएका थिए । सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए । सन् २०२० को जनवरीदेखि मार्च महिनासम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या शुन्य रहेको थियो ।

अक्टुवर महिना मात्रै दुई जना विदेशी पर्यटक भित्रिएका थिए । नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो । सन् २०२० मा सीमा नाका हुदै ५१९ पर्यटक बाहिरिएका थिए । सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए । सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र  दुई हजार २२२ पर्यटक बाहिरिएका थिए ।

यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । “विदेशी पर्यटकहरुले सीमा प्रवेश गरेपछि सम्पुर्ण विवरण सहितको फाराम भर्नु पर्ने हुन्छ । आवेदन दिनु पर्छ” सुचना अधिकारी भट्टले भने, “कोरोना विरुद्धको दुई वटा खोप अनिवार्य लगाएको हुनुपर्छ । त्यस पछि मात्रै सीमा प्रवेश अनुमती दिइने गरेको छ  । धेरैले फाराम भर्न जान्दैनन् । हामीले फाराम भर्न सघाउने गरेका छौं ।”

विदेशी पर्यटकसँग नगद रकम नभइ कार्ड मात्रै हुने गर्दछ । कार्ड स्वाइप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनी चेन्जरमा विदेशी पैशाको कारोवार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको उनले उल्लेख गरे । अध्यागमन कार्यालय लामो समय देखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । कार्यालयको अफनो स्वामित्व जग्गा र घर नहँुदा भाडाको घरमा सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीले २४ सै घण्टा सेवा दिँदै आएपनि अतिरिक्त सुविधा भने पाउने गरेका छैनन् ।