Close This

असार १ बाट बन्द हुँदै छ इन्टरनेट एक्स्प्लोरर

मंगलबार जेठ ३१, २०७९/ Tuesday 06-14-22
Paschim Today

काठमाडौँ,३१ जेठ ।  इन्टरनेट एक्स्प्लोरर बन्द हुने भएको छ । २७ वर्ष पुरानो यो वेब ब्राउजर असार १ (बुधबार) बाट सधैंका लागि बन्द हुने माइक्रोसफ्टले जनाएको छ । सन् १९९५ मा विन्डोज ९५ को एड–अन प्याकेजका रूपमा इन्टरनेट एक्स्प्लोरर सुरु भएको थियो ।

सन् ९० को दशकमा इन्टरनेटमा प्रवेश गर्न प्रायस् मानिसहरू इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्थे । त्यतिबेला यो खुब लोकप्रिय थियो । तर, अन्य ब्राउजरले गुणस्तरीय सेवा दिन थालेपछि एक्स्पोलररको लोकप्रियता घट्दै गयो । समय यस्तो पनि आयो, एक्स्प्लोररलाई स्लो स्पिडको पर्याय मान्न थालियो । यसको ढिलो गतिलाई लिएर अनेक मिमहरू बनेका छन् ।

पछिल्लो समय विन्डोजमा अन्य ब्राउजर इन्स्टल गर्न इन्टरनेट एक्स्प्लोरर प्रयोग गर्ने गरिएको थियो । विन्डोज टेनबाट भने माइक्रोसफ्ट एजले एक्स्प्लोररको स्थान लिएको थियो । इन्टरनेट एक्स्प्लोरर बन्द भएपछि यसमा चल्ने वेबसाइट र एप्लिकेसनहरू अब एजमा हेर्न सकिनेछ ।  

सन् ९० को दशकमा प्रयोगकर्तालाई इन्टरनेटबारे परिचित गराउन इन्टरनेट एक्स्प्लोरर विशेष माध्यम थियो । त्यो बेला एनसीएसए मोजाइक, नेटस्केपजस्ता ब्राउजर उपलब्ध थिए । नेटस्केप र एक्स्प्लोररबीच व्यापक प्रतिस्पर्धा हुन्थ्यो । सन् १९९७ मा माइक्रोसफ्टले इन्टरनेट एक्स्प्लोरर ४.० सार्वजनिक गरेपछि माहोल तात्तिएको थियो ।झन्डै तीन दशक लामो इतिहास भएको इन्टरनेट एक्स्प्लोरर बन्द हुने खबरले यसका पुराना प्रयोगकर्ता एक हिसाबले खिन्न बनेका छन् । आजसम्म पनि इन्टरनेट एक्स्पोलररबाटै वेब सर्फिङ गर्ने प्रयोगकर्ता छन् ।