एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली, प्रशिक्षक फर्किएनन्

बिहीबार असार २, २०७९/ Thursday 06-16-22
Paschim Today

काठमाडौं, २ असार । एएफसी एसियन कप–२०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

छनोटमा सबै ३ खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार कतार एअरलाइन्सबाट काठमाडौं आइपुगेको हो। ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रशिक्षक अल्मुताइरी एन्फासँग बिदा लिएर कुवेतमै बसेका हुन्। सिनियर ११ खेलाडीबिनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो।

उक्त खेलमा दर्शन गुरूङले ४० वर्षपछि कुवेतविरूद्ध गोल गर्ने कीर्तिमान बनाएका थिए। ४० वर्षअघि वाईबी घलेले कुवेतविरूद्ध पहिलो गोल गरेका थिए। त्यो नै नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो। तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित हुन पुगेको थियो। इन्डोनेसियाविरूद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए। छनोटका लागि एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको थियो।

शिवकुमार गुरूङ र नीरकुमार राईले इन्डोनेसियाविरूद्धको खेलमार्फत् डेब्यू गरेका थिए। शिव र नीर दुवैले पहिलो रोजाईमै खेलको सुरूआत गरेका थिए। उनीहरूसँगै राष्ट्रिय टोलीमा डेब्यू गर्ने खेलाडीको संख्या १५ पुगेको छ।