Close This

बसन्तामा हुलाकी राजमार्ग निर्माणको कार्य पूरा हुँदै

शनिबार असार ४, २०७९/ Saturday 06-18-22
Paschim Today

धनगढी,४ असार । लामो समयसम्म काम हुन नसकेको कैलालीको बसन्ता कोरीडोर क्षेत्रमा हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुन थालेको छ । वनको अवरोधका कारण धेरै समयसम्म काम रोकिएको थियो।

वन क्षेत्रमा बाँकी रहेको दुई किलोमिटरमा यसैवर्षबाट काम सुरु भएपछि निर्माण कार्य पूरा हुन थालेको हो । सो खण्डमा हाल कालोपत्रे गर्ने कार्य भइरहेको छ । केही हप्ताभित्रै निर्माणको कार्य पूरा हुने हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।

‘कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ’, आयोजनाका सूचना अधिकारी इन्जिनीयर पदम मडैले भने । ‘अबको केही हप्ताभित्रै निर्माण कार्य पूरा हुन्छ ।’ त्यसो त सो खण्डमा निर्माणको समायवधि असार मसान्तसम्ममात्रै रहेको छ । यद्यपि, असार मसान्तभन्दा अगाडि नै कालोपत्रे गर्ने कार्य सम्पन्न भइसक्ने इन्जिनीयर मडैले बताए । 

बसन्ता कोरीडोर क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि २०७३ मा तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीसंग ठेक्का सम्झौता भएको थियो । पाँच वर्ष समयावधि रहेको सो खण्डमा राजमार्ग निर्माण कार्य पूरा गर्न भने छ वर्ष लागेको छ । वन क्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर सडक खण्डमा बेलैमा राजमार्ग निर्माणको कार्य पूरा भए पनि दुई किलोमिटरमा भने वनले रोकेको थियो । 

लामो समयसम्म रुख कटानको आदेश प्राप्त नभएपछि सो ठाउँमा काम अगाडि बढ्न सकेको थिएन । पटक–पटक म्याद थप हुँदै आएकोमा गतवर्षमात्रै मन्त्रिपरिषद्ले रुख कटानको आदेश दिएको थियो ।

कैलारी गाउँपालिका–५ को कटैनी पुलदेखि वडा नम्बर ७ छटकपुर बसन्तासम्म दुई किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न एकदमै सहज हुनेछ । बसन्ता कोरीडोर क्षेत्रमा सडक निर्माणका लागि निर्माण कम्पनीले करिब ३३ करोड रुपैयाँमा ठेक्का पाएको थियो । 

यसैगरी, भजनी नगरपालिका–५ लालबोझीमा कान्द्रा नदीले हुलाकी राजमार्ग कटान गरेको ठाउँमा ड्याम बनाउनका लागि ठेक्का प्रक्रियालाई अगाडि बढाइएको छ । गतवर्ष बर्खामा आएको बाढीले लालबोझीमा चार सय मिटर हुलाकी राजमार्गलाई कटान गरेको थियो । त्यहाँ अब ड्याम बनाएरमात्रै सो ठाउँमा राजमार्ग निर्माणको काम गर्ने मडैले बताए ।

उनले यसवर्ष ठेक्का भएर आगामी आर्थिक वर्षबाट ड्याम बनाउने कार्य हुने जानकारी दिनुभयो । धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी रहेको हुलाकी राजमार्ग सन २०१० बाट कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । हुलाकीको स्तरोन्नति र नदीले कटान गरेको ठाउँबाहेक बाँकी अन्य काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

धनगढीको क्याम्पस रोडदेखि मनहेरासम्म चार लेन र बाँकी सबै ठाउँमा दुई लेनमा हुलाकी राजमार्गलाई विस्तार गर्ने गरी काम भइरहेको छ । हुलाकी राजमार्ग स्तरोन्नतिको समयावधि आगामी पुससम्म रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । ‘तर, कामको गति हेर्दा पुस मसान्तसम्म स्तरोन्नतिको काम सकिने जस्तो देखिदैंन’, इन्जिनीयर मडैले भने । 

हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षको हालसम्म ३७ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । ‘जसमध्ये कैलालीमा २५ करोड र बाँकी रकम कञ्चनपुरमा खर्च भएको छ’, उनले बताए ।  कञ्चनपुरमा पनि हुलाकी राजमार्ग निर्माणको कार्य अझै बाँकी रहेको छ । निर्माण समयावधि सकिए पनि काम भने अझै धेरै बाँकी रहेको छ । 
हुलाकी राजमार्गले सहज

हुलाकी राजमार्ग निर्माण भएपछि कैलालीको दक्षिणी क्षेत्रहुँदै आउजाउ गर्न सहज भएको छ । हुलाकी राजमार्ग भएर धनगढीदेखि सत्ती, सत्तीदेखि राजापुर–गुलरिया हुँदै नेपालगञ्जसम्म आउजाउ गर्न सहज भएको छ । साथै, दूरी पनि छोट्टिएको छ ।

हुलाकी राजमार्ग बनेपछि धनगढीबाट नेपालगञ्जसम्म आउजाउ गर्न सहज भएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा कार्यरत धनगढी उपमहानगरपालिका–६ जालीका विदेश चौधरीको भनाइ छ । उनले हुलाकी राजमार्ग बनेपछि सोही बाटो भएर नेपालगञ्जसम्म आउजाउ गर्न थालेको बताए ।

‘महेन्द्र राजमार्गमा गाडीको चाप, दूरी बढी, निकुञ्ज लगायतको कारणले बढी समय लाग्छ’, उनले भने । ‘तर, हुलाकी राजमार्ग भएर गएमा अलि कम समय लाग्छ । निकुञ्ज क्षेत्र पनि नपर्ने गरेकाले वन्यजन्तुको धेरै त्रास हुँदैन । तर, खाता जैविकमार्ग क्षेत्रमा भने वन्यजन्तुको थोरै डर छ ।’