Close This

सरकारले भन्यो,‘हैजा फैलिन थाल्यो, सरसफाइमा ध्यान दिनू’

सोमबार असार ६, २०७९/ Monday 06-20-22
Paschim Today

काठमाडौं,६ असार । हैजा तथा पानी जन्य रोगहरूको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई खानपिन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

काठमाडौंमा एकै परिवारका २ जनामा हैजा रोगको पुष्टि भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्षा याममा पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर खान र सरसफाइमा ध्यान दिन सुझाएको हो।

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। त्यस्तै व्यक्तिगत सरसफाई विशेष गरी (हातको सरसफाइ) तथा खानेकुराको सरसफाइ गर्ने, दिशापिसाब गरेपछि राम्ररी हात धुनसमेत उनले अनुरोध गरे।

काठमाडौं महानगरपालिका बागबजार वडा नं. २८ मा बसोबास गर्दै आएका एकै परिवारका दुवै बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ।

१८ र २३ वर्षका उनीहरू झाडापखालाको लक्षण देखिएर असार २ गते टेकु अस्पताल भर्ना भएका थिए।त्यस्तै हिजोमात्र टेकु अस्पतालमा हैजाका शंकास्पद तीन जना बिरामीलाई आइसीयूमा भर्ना गरिएको छ।