Close This

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

मंगलबार असार ७, २०७९/ Tuesday 06-21-22
Paschim Today

बैतडी,७ असार । बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका यहाँ चार हजार २६८ बालबालिका रहेका छन् ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ ।

१६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन/तीन वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।