तालिम र सम्मेलनका लागि दुई करोड २० लाख रुपैयाँ विनियोजन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा तालिम र सम्मेलनका नाममा दुई करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले अर्थ मन्त्रालयको बजेटमा लगानी सम्मेलनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यसअघि अर्थमन्त्री झपट बोहराको पालामा पनि लगानी सम्मेलन गरिएको थियो । त्यो सम्मेलनको उपलब्धि अहिलेसम्म सार्वजनिक भएको छैन । फेरि लगानी सम्मेलनका लागि यति ठूलो रकम विनियोजन गरिएको हो।

त्यस्तै आर्थिक विषयक अनुसन्धान तथा विकास सम्बन्धि कार्यशालाका ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यसैगरी आर्थिक मामिला मन्त्रालयले आर्थिक विकास तथा समृद्धि सम्बन्धि बहस, पैरवी तथा संवादका लागि ५० लाख रुपैयाँ, बजेट तर्जुमा सम्बन्धि छलफलमा १८ लाख रुपैयाँ, बजेट कार्यान्वयन दक्षता अभिवृद्धि कार्यक्रमका लागि १८ लाख, योजना तथा बजेट तर्जुमा सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमका लागि ३६ लाख, पीएलएमबीआईएस सम्बन्धि अभिमुखीकरण तथा तालिमका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

एउटै प्रकृतिका कार्यक्रम र योजनामा प्रदेश सरकारले अलग अलग शीर्षकमा यति ठूलो रकम विनियोजन गरेको हो ।