सत्ताको सती गएको काँग्रेस र लाचार प्रदेश सभा सदस्यहरू

बिहीबार असार ३०, २०७९/ Thursday 07-14-22
दीर्घराज उपाध्याय

धनगढी,३० असार ।  सुदूरपश्चिम प्रदेश सभामा तेस्रो ठूलो दल नेपाली काँग्रेस चार वर्ष प्रतिपक्षको बेन्चमा रह्यो । र, त्यो चार वर्ष उसले सरकारको आलोचनामा खर्चियो ।

काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल भन्थे, सरकार बिचौलियाले चलायो । योजनाहरू किनबेच भए । प्रदेश सरकारले जनताको आवश्यकताका आधारमा भन्दा पनि बिचौलियाहरुसंगको मिलेमतोमा योजनाहरू बनायो । 

माओवादी नेतृत्वको सरकारले गोदावरीलाई राजधानी घोषणा गर्दा विरोधमा उत्रिएका काँग्रेस संसदीय दलका नेता रावल भन्थे, गोदावरी बाघको बासस्थान हो । यही भएर बाघ आवतजावत गर्छ । जङ्गल मासेर राजधानी बनाउँदा त्यसले पर्यावरणलाई मात्र असर गर्ने छैन । जङ्गली जनावरको जैविक मार्ग समेत नष्ट हुनेछ ।

चार महिनाअघि रावलकै नेतृत्वमा दुई मन्त्री र एक राज्य मन्त्री सहित पाँचौँ वर्षमा काँग्रेस सरकारमा सहभागी भयो । त्यही खुसीमा प्रेस युनियनले बधाई तथा शुभकामना कार्यक्रममा आयोजना ग¥यो । यस पङ्क्तिकारलाई पनि शुभकामना मन्तव्य व्यक्त गर्ने अवसर युनियनले दियो ।

त्यतिबेला यो पङ्क्तिकारले बधाई दिँदै गर्दा सचेत पनि गर्दै भनेको थियो, यतिबेला नेपाली काँग्रेस सरकारमा छ । अव गोदावरीमा बाघ आउँछ कि आउँदैन ? अव कमिसनमा योजनाहरू बिक्री गर्ने कार्य रोकिन्छ कि ती योजनामा काँग्रेसले पनि कमिसन खोज्छ ? अव पनि सरकार बिचौलियाले चलाउँछन् कि जनताका प्रतिनिधिले ? यिनै प्रश्नको घेरामा काँग्रेस रहनेछ । काँग्रेस हिजो प्रश्न गर्थ्यो, अव प्रश्नहरूको जवाफ दिनुपर्ने ठाउँमा छ । सरकारमा सहभागी हुनु काँग्रेसका लागि अवसर भन्दा बढी चुनौती हो । चुनौतीको चाङमा उभिएको काँग्रेस सत्ताको सती जान्छ वा स्वाभिमान जोगाएर जनताका माझ शिर ठाडो गरेर उभिन्छ रु त्यसैले काँग्रेसको सफलता वा असफलता निर्धारण गर्नेछ । 

तर काँग्रेसले यो चार महिनामा आफ्नो स्वाभिमान जोगाउन सकेन । बजेट निर्माणमा उसको निरीहता जसरी बाहिर देखियो, बजेटको विरोधमा उसको अडानमा २९ औँ दिनमा आएको स्खलनले उसको रुपलाई उदाङ्गो गरिदिएको छ । बजेट पास गरिरहँदा जनताका नजरमा फेल भएको उसले बुझ्नै सकेन ।

प्रदेश सभामा यतिबेला ५१ जना सदस्य छन् । अब उनीहरू बढीमा पाँच महिना सांसद पदमा रहने छन् । तर पाँच महिनाको जागिर जोगाउन उनीहरू आफ्नो अडानबाट यति चाँडै विचलित भए । दलको ह्वीपका कारण उनीहरू निरीह र लाचार भए । २९ गते प्रदेश सभामा उनीहरूको निरीहता, लाचारी प्रस्टैसँग देखियो ।  २९ औँ दिनमा बजेट पास गर्दै गर्दा त्यस्तो के चमत्कार र बजेटमा सुधार भयो कि सबै दलहरू मिलेर त्यो बजेट पास गरे ?

वर्षेनी सयौँ बिगाहा जमिन कटान गर्ने मोहना, कान्द्रा, काँडा लगायतका नदीमा तटबन्धका योजना छैनन् । तर धनगढी शिवनगरमा मन्त्रीको घर छेउका कुलामा तटबन्धका करोडौँ रुपैयाँ योजना छन्। 

पहिरोबाट दर्जनौँ व्यक्तिको मृत्यु भएका बझाङको केदारस्यु, अछामको रामारोशन र बाजुरामा पहिरो रोकथामका लागि तटबन्धका योजना छैनन् । जहाँ अहिले पनि सयौँ परिवार थाँतथलो छोडेर त्रिपाल र अरूको घरमा आश्रय लिइरहेका छन्, उनीहरूको पुनर्स्थापना र गाँस,बासका लागि न बजेट छ, न योजना छ । ज्यूँदालाई बेवास्ता गरेर मन्दिर, सहिदका सालिक, स्मृति भवन, गेटमा करोडौँ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा र स्वास्थ्यको बजेट काटेर मन्दिरका लागि बजेट विनियोजन गरिएको छ । कञ्चनपुरमा महाकाली अस्पतालका लागि बजेट छैन । त्यही छेउको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि अढाई करोड रुपैयाँ विनियोजन गरिएको छ । मेरो गाउँको मन्दिरमा बजेट परेन भनेर मन्त्रीसँग गुनासो गर्ने सांसदहरूले मेरो ठाउँको विद्यालय र अस्पतालका लागि बजेट खोइ भनेर प्रश्न गर्दैनन् । 

दार्चुलामा महाकाली नदीमा तुइनबाट खसेर हालसम्म २६ जनाको मृत्यु भयो । असारमै दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर महाकाली नदीमा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भए । गत वर्ष यसैगरी जयसिंह धामी बेपत्ता भएका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुलका योजना परेनन् । बरु दर्जनौँ मन्दिर र पद मार्गका नाममा करोडौँ रुपैयाँ विनियोजन गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका सहित चार वटा पालिकाका ४२ वटा वडाको कृषि योग्य जमिन महाकाली सिँचाइको पानीले सिञ्चित हुने गरेको छ । जहाँ सतह सिँचाइको व्यवस्था छ, त्यही भूमिगत सिँचाइका लागि करोडौँ रुपैयाँका योजना पारिएका छन् । 

योजना निर्माणका सबै प्रक्रिया मिचिएका छन् । गाउँ तहबाट कुनै योजना छनौट भएनन् । जिल्लाका सम्बन्धित कार्यालयहरूबाट कुनै सिँचाइका योजनाहरू आएनन् । प्रदेश सभा सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा परेका योजनाहरूका बारेमा आफूहरूलाई जानकारी नभएको प्रदेश सभामै बताए । आफ्नै मन्त्रालय अन्तर्गत परेका योजनाहरूका बारेमा मन्त्रालयका सचिवहरूलाई थाह छैन । यदि त्यसो हो भने योजना कसरी परे ? पारिए ? कसले बनाए ? यसले प्रष्ट हुन्छ, सुदूर पश्चिम प्रदेश सरकार कुनै दल वा मन्त्रीहरूले चलाइरहेका छैनन् । बिचौलियाले चलाएका छन् । प्रदेश सभा सदस्यहरूले यस्तो आरोप लगाए ।

हिजो कुलो खाने व्यक्तिले मन्त्रालय मात्र खाएनन्, सरकार नै खाई दिए । तर मुख्यमन्त्री, मन्त्री र सांसदहरू त्यसका साक्षी मात्र भएनन् । मतियार भए । सबैभन्दा उदेक लाग्दो कुरा त के भने सरकारमा मुख्यमन्त्री र मन्त्री नियुक्त गर्ने पार्टीहरू पनि बिचौलियाको सेटिङमा मौनता साँधेर बसे । यो आरोप होइन । उनीहरूको मौनताले यही कुरा पुष्टि हुन्छ । सत्तामा रहेका दलहरू अव के एजेण्डा लिएर चुनावमा जाने छन् ? बिचौलियाले मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरूलाई चुप लगाएनन्, दलहरूलाई नै चुप लगाई दिए । २९ दिनमा बिना सर्त, बिना संशोधन बजेट पास हुनुले यही कुराको सङ्केत गर्छ । होइन भने किन २८ दिनसम्म प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक चल्न दिएनन् ? २९ औँ दिनमा त्यस्तो के चमत्कार र बजेटमा संशोधन भयो, सांसदहरुले त्यो बजेट पास गरे ?

दियो जलाउन सलाईको एउटा काँटी काफी हुन्छ । सलाईको एउटै काँटीले अध्याँरोलाई चिर्ने सामर्थ्य राख्छ । बस्ती जलाउन वा सबै कुरा नष्ट गर्न पनि एउटै सलाईको काँफि हुन्छ । तर प्रतिपक्षमा रहेका १२ सांसदहरू ढुँसी परेका काँटी जस्ता भइदिए । जसले आफ्नो सामर्थ्य चिन्न सकेनन् । सत्ताको सती गएका काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल र उनीसँगै केथी थान बजेटको आश्वासमा इमान बन्धकीमा लिलाम गर्ने सांसदहरूबाट के अपेक्षा गर्नु ? प्रतिपक्षमा हुँदा जे कुराको उनीहरूले विरोध गर्थे । आज त्यही कुरा उनीहरूले आत्मसात गरे । यही हो सत्ताको बिद्रुप रूप । जसले नेताहरूको मुकुण्डो उघारिदिएको छ । लोभीपापीहरुको झुण्डको असली अनुहार देखाई दिएको छ ।

पहिलो कुरा त यो बजेट नै होइन । यो ‘सपिङ लिष्ट’ हो । आम्दानीको कुनै आधार छैन । खर्चका कुनै नियमहरू छैनन् । माथिबाट आएको बजेटलाई मनलाग्दो सूचि बनाएर सामान खरिद गर्ने कार्य गर्नुलाई सरकार चलाउनु भनिन्छ भने किन चाहियो यस्तो सरकार ? हो, यसैलाई भन्छन्, फुपूको धन मामाको श्राद्ध।

एउटा मन्त्रिले कुल बजेटको ५१ प्रतिशत कब्जा गर्छ । मुख्यमन्त्री चुप रहन्छन् । मन्त्रीहरू चुप रहन्छन् । ती दलका सांसदहरू चुप रहन्छन् । जनताले पठाएका प्रतिनिधिहरू बुख्याच्या भइदिँदा के हुन्छ ? २९ गते प्रदेश सभामा त्यही भयो ।

यी बुख्याँचाहरुलाई पाल्न किन प्रदेश संरचना राखिरहने ?

पाँच महिनाको जागिर र केही थान योजनाहरूको आश्वासनमा इमान, जमान र नैतिकता बेच्नेहरूबाट हामीले अपेक्षा ग¥यौ । हिजो काँग्रेस तीन बूँदेमा चुक्यो । बिक्यो । र अहिले एमाले १४ बूँदेमा चुक्यो । बिक्यो । २८ दिन सम्म किन प्रदेश सभा बन्धक बनाइयो ? किन अवरुद्ध पारियो ? बजेटमा कहाँनिर फेरबदल भयो ? र, त्यो बजेट पास गरियो ? प्रदेश सभा सदस्यहरूले किन यतिका दिन नाटक गरे ? त्यसको जवाफ दिनै पर्छ ।

२९ दिन पनि आफ्नो बोलीमा अडिग रहन नसक्ने सांसदहरू जसले बजेट जस्ताको त्यस्तै पास गरे, यो सरकार जत्तिकै उनीहरू पनि अपराधी हुन । जसले हिजो जो बजेटलाई वेवारिस भने, जसले यो सरकारलाई अपराधी भने । जसले यो सरकारलाई बिचौलियाले चलाए भनेर आरोप लगाए । यी सबै आरोपहरू सरकारमाथि लगाउने तपाईहरु नै होइन ? ए माननीय ज्यूहरू २९ गतेदेखि यो सरकारले कसले चलाउन थाल्यो जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन ? कि सुदूरपश्चिम राम राज्य भएको हो ?