Close This

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

बिहीबार श्रावण १२, २०७९/ Thursday 07-28-22
Paschim Today

पोखरा, १२ साउन । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । जुन पुरस्कार नेपालमा दोहोरीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ । यसैगरी द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट रु ५५ लाख आम्दानी भई खर्च रु ३९ लाख ५० हजार कटाएर रु १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र रु १४ लाख ५० हजार खर्च हुनेछ । एक समूहमा महिला र पुरुष एक÷एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गर्ने कार्यक्रम संयोजक दाहालले बताए । लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । उनका अनुसार प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ ।

नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको हो । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीतहरु सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुु¥याउनु भएका स्रष्टा शेरचनको विसं २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।

स्व शेरचनले १६ वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र।,सुखी ज्यानलाई गुँदरी काम्लो।, आहा कलिलो तामालाई सोध रामलाई।, ऐ भेना यो सला, ल्याइदेउ मलाई पछ्यौरी मलमललगायतका गीतहरु सङ्कलन गरेका थिए । शेरचनले नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल भएको मानिन्छ ।