महिला फुटबलमा नेपाल एक स्थान तल झरयो

शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
रासस

काठमाडौं, २० साउन । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।

भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।