Close This

‘जनताको साथ पाउन हाम्रै आनीबानी सुधार्नुपर्छ’

शनिबार श्रावण २१, २०७९/ Saturday 08-06-22
Paschim Today

धनगढी, २१ साउन । नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चाका नेताहरुले जनताको साथ पाउन आनीबानी सुधार गर्नु पर्ने बताएका छन् । 
शनिबार कञ्चनपुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको पहिलो सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन उद्घाटनको क्रममा शुभकामना मन्तव्य दिदैं उनीहरुले जनताको साथ पाउन आनीबानी सुधार गर्न आवश्यक रहेको बताएका हुन । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका मोर्चाका केन्द्रीय उपाध्यक्ष देवीलाल चौधरीले २०६४ को थारु राष्ट्रिय मुक्ति मोर्चा बन्न सक्ने कि नसक्ने त्यो चुनौती अहिले रहेको बताए । 
‘हामी कहीँ न कहीँ बिग्रेका कारण जनताले हामीलाई अहिले साथ नदिएका हुन’, उनले भने । ‘हाम्रो आनीबानी सुधार गरे जनताले फेरि साथ दिनेछन् ।’ मोर्चाले उठाउँदै आएको पूर्ण समानुपातिक सहभागिताको मुद्दा अझै पनि सम्बोधन हुन नसकेको चौधरीको भनाइ थियो । ‘हामीले उठाएको मुद्दा पूर्ण रुपमा सम्बोधनका लागि सङ्र्घ गर्न आवश्यक छ’, उनले थपे । ‘जबसम्म मुद्दा पूर्ण रुपमा सम्बोधन हुँदैन तबसम्म संघर्ष गर्न आवश्यक छ ।’ 
तत्कालीन समयमा माओवादीले विभिन्न उत्पीडित वर्ग, जाति, समुदायको मुक्तिका लागि विभिन्न वर्गीय, जातीय मोर्चा बनाएको थियो । सोही क्रममा २०५४ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको उदय भएको थियो । 
वर्गीय मुक्तिको साथसाथै जातिय मुक्तिको आवाज उठाउनका लागि थारु राष्ट्रिय मुक्ति मोर्चाको उद्य भएको माओवादी नेतृ एवम् सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले बताइन् । उनले थारु समुदायको अधिकार प्राप्तीका लागि मोर्चाले सशक्त रुपमा आवाज उठाउँदै आएको उल्लेख गरिन् । 
‘अहिले मोर्चाले पहिचानको मुद्दा छोडिसकेको भनेर भ्रम छर्ने कार्य भइरहेको छ’, चौधरीले थपिन्,‘त्यस्ता भ्रममा नपर्न र भ्रमलाई चिरेर अगाडि बढ्न आवश्यक छ ।’ मोर्चाले उठाएका एजेन्डालाई माओवादी पार्टीले संगसंगै लगिरहेको उनको भनाइ थियो । ‘जे एजेन्डा छन्, त्यसलाई निष्कर्षमा पु¥याउनका लागि मोर्चालाई अझ सशक्त बनाउन आवश्यक छ’, उनले भनिन् । 
उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र) का प्रदेश अध्यक्ष हरि चौधरी उत्सव, कञ्चनपुर जिल्ला अध्यक्ष टेकेन्द्र भट्ट, लगायतकाले सम्बोधन गरेका थिए । सम्मेलनले प्रदेश स्तरीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको छ । 

May be an image of 1 person, sitting and standing