फ्रान्समा भएको दुर्घटनामा एक नेपालीको मृत्यु, एक जना सख्त घाइते
फ्रान्सको राजधानी पेरिसबाट करिब ९३२ किमी दक्षिणमा रहेको निस सहरको राजमार्गमा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु हुनुका साथै अर्की एक महिला सख्त घाइते भएकी छन् । मृत्यु हुनेमा बरपिपल, भरतपुर, चितवनका महेन्द्र प्रसाद कँडेल हुन् भने घाइते हुनेमा नवलपुर, नवलपरासीकी लक्ष्मी न्यौपाने हुन् ।
पेरिसस्थित नेपाली दूतावासका अनुसार घाइते न्यौपानेको हाल निस सहरस्थित पास्टर(२ अस्पतालको डोर्माटोलोजी वेस्ट विभाग अन्तर्गत चौथो तल्लामा रहेको कोठा नम्बर ४०३३ मा उपचार भइरहेको छ ।मृतकको शव भने उनका परिवारले नेपाल लैजान खोजेको र त्यसका लागि प्रक्रिया गरिने दूतावासले जनाएको छ । दुर्घटना गत जुलाई १७ तारिख आइतबार राति १२ बजेर ४० मिनेटमा भए पनि फ्रान्सको प्रहरीले अगस्ट ३ मा मात्रै पेरिसस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो ।
प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार मृतक कँडेल र घाइते न्यौपाने फ्रान्स र इटालीको सीमा नजिकैको रोकब्रुन क्याप मार्टिन इन्टरचेन्ज र मेन्टन इन्टरचेन्जको बीचमा ए ८ राजमार्ग पार गर्ने क्रममा सवारी दुर्घटनामा परेका हुन् । दुर्घटना लगत्तै राजमार्ग करिब दुई घण्टा जाममा परेको निस सहरबाट प्रकाशित फ्रान्सब्ल्यु अखबारले उल्लेख गरेको छ ।दुर्घटनामा पर्नेका आफन्तको भनाइमा न्यौपाने र कँडेलसँगै करिब १० जना नेपाली केही दिनअघि रोमानियाबाट हिँडेका थिए । उनीहरू रोमानियाभन्दा उत्तम विकल्पको खोजीमा त्यहाँबाट हिँडेका थिए।
केही दिनको प्रयासपछि निसस्थित पास्टर-२ अस्पतालमा उपचाररत लक्ष्मी न्यौपानेसँग पेरिसस्थित नेपाली दूतावासले सोमबार मध्याह्नमा सम्पर्क गर्दा उनले आफूहरू चार जनाको समूहले राति सडक पार गरेको बताएकी थिइन् । लक्ष्मी न्यौपानेका अनुसार उनका दुवै गोडा र ढाड भाँचिएका छन् । अस्पतालका कर्मचारीले भने न्यौपानेको शरीरका धेरै भागमा चोट लागेको छ र घाउ सन्चो हुने क्रम ढिलो भइरहेको छ ।
सोमबार दूतावाससितको सम्पर्कमा न्यौपानेले सडकमा कसैले धकेलिदिएको जस्तो आफूले अनुभव गरेको तर त्यसपछिको कुनै पनि अवस्थाका बारेमा जनकारी नभएको बताएकी छन् । फ्रान्सब्लु अखबारले नाम उल्लेख नगरिकन दुर्घटनामा पर्नेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्को एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उल्लेख गरेको छ ।
रातको समयमा राजमार्ग पार गर्ने क्रममा राति तीव्र गतिमा गुडेको गाडीले ठक्कर दिएको फ्रान्सेली प्रहरीको भनाइलाई उल्लेख गर्दै फ्रांन्सब्ल्यु अखबारले जनाएको छ । दुर्घटना लगत्तै प्रहरीले पीडितको पहिचान गर्न जाँचबुझ सुरु गरेको स्थानीय पत्रिकाले उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया