Close This

दाङको देउखुरीमा विद्यार्थीलाई निर्घातरुपमा कुटपिट गर्ने शिक्षक पक्राउ

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

दाङ, २६ साउन । दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते बनेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।

जनज्योती मा।वि बेला कक्षा १२ मा अध्यनरत विद्यार्थी मन्साराम यादवसँग शिक्षक पाटेश्वर यावदकी १८ वर्षीय छोरी सुनिता यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि छोरीका बुवा शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रहरीका अनुसार यादवलाई चिर्पट, लात्ति र मुक्काले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाइएको छ । घटना विवरण अनुसार राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादवलाई उनकी प्रेमीका सुनिता यादवको फोन आयो । गत साउन २० गते प्रेमीका सुनिता यादवले मन्साराम यादवलाई राती नाच हेर्न आउ भनिन् ।

नाच हेर्नकै लागि यादव खरदरीयाबाट साइकलमा बेला चोकमा आए । राती नाच हेर्न आउ है मन्साराम भनेर छोरी सुनिताको बुवा पाटेश्वर यादवले फोन गर्न लगाएका रहेछन् । यो योजना दुई तीन दिन अगाडि बनेको बुझिएको छ । शिक्षक पाटेश्वर यादवले छोरी सुनिता यादवकी प्रेमी मन्साराम यादवलाई कुटपिट गर्न आफ्नै छोरीको प्रयोग गरे । छोरीको मोबाइलबाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ, नाच हेर्न आउ भनि मन्साराम यादवलाई बेला चोकमा बोलाइयो । बेला चोकमा मन्साराम पुग्ने वित्तिकै उनि माथि आक्रमण सुरु भयो ।

मन्सारासंगै पुगेका साथीहरु भागेर ज्यान बचाउन सफल भए तर, मन्सारामलाई भने बेला चोकबाट निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टा लगायत शरिरको कुनै भाग खाली नराखी बेहोस् हुनेगरी पुनः कुटपिट गरियो । मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुर यादवलाई घटनाको दुई दिन पछि प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाइएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानपश्चात् यादवलाई निर्घात रुपमा कुटपिटपछि नक्कली कागज बनाइएको खुल्न आएको छ । पाटेश्वर यावद लगायत आफन्तहरुले पीडित यावदलाई रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाइएको प्रहरी अनुसन्धानमार्फत जानकारी दिएको छ । योजनाबद्ध रुपमै बनाइएको कागज घटनास्थलबाट गढवा प्रहरीले फेला पारेको हो । गढवा प्रहरीका अनुसार म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, गरेमा यसै कागजलाई आधारमानी कुनै मुद्दामामिला हुने छैन भनि नक्कली कागजमा लेखिएको छ ।

निर्घात रुपमा कुटपिट गरि राती १२ः ३० बजे राजपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामप्रसाद यादवलाई ती युवतीका आफन्तहरुले फोन गरे । वडाध्यक्ष रामप्रसाद यादवका अनुसार मन्साराम यावद पाटेश्वर यादवको घरमा पैसा चोर्ने उद्देश्यले घरमा पसेको रहेछ, त्यसलाई हामीले छोपेर राखेका छौं भन्ने खबर मैले पाए । त्यसपछि तुरुन्तै पाटेश्वरको पुग्दा मन्साराम यादव रक्ताम्य भएको अवस्थामा थिए । त्यसपछि बेला प्रहरी चौकी इञ्चार्जलाई फोन गरे । लगत्तै प्रहरी पाटेश्वर यादवको घरमा आइपुग्यो ।

निर्घात रुपमा कुटपिट पछि घाइते भएका यावदलाई घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगंज चारबहिनीस्थित नर्सिङ होम वेस्टर्न अस्पतालमा उपचार भइरहेको स्थानीय पत्रकार शिवु खनालले जानकारी दिएका छन् ।