Close This

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
एजेन्सी

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी देखिँदै आएको छ । पछिल्लो २४ घण्टामा पनि थप एक लाख ३७ हजार २४१ जना नयाँ सङ्क्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९८ लाख तीन हजार एक सय ६९ पुगेको छ । अहिले देखिएको दैनिक सङ्क्रमितको सङ्ख्या पनि अघिल्लो दिनको भन्दा केही कम हो । अघिल्लो दिन एक लाख ५१ हजार  सात सय ९२ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी अघिल्लो हप्ता औसतमा एक लाख १७ हजार पाँच सय ९१ जना नयाँ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये  चार सय  १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार ४४१ पुगेको छ ।