Close This

धिरेन्द्र सिनालको झल्को तिम्रै बोलको गीत बजारमा

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

झल्को तिम्रै बोलको गीत बजारमा आएको छ । एउटा वियोगान्त प्रेम कथामा आधारित धिरेन्द्र सिनालको सो गीत मङ्गलवार बजारमा आएको हो ।

यो गीतको शब्दहरूले यो संसार छोडेर गएका आफ्ना प्रियजनहरूको झल्कोलाई बोकेको सिनालले बताए । आशिष अविरलको सङ्गीत रहेको सो गीतमा प्रवीण भेडवालको स्वर रहेका छ । गीतको निर्देशन लक्ष्मण सुनारले गरेका छन् । 

यसरी बन्यो गीत

सन २०१८ को बिचबिच तिर हो मेरो (धिरेन्द्र)श्रीमती सोनु मृगौलाको समस्याले थलिँदै गएकी थिइन । उनको प्रत्यारोपण छिटो गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिए । तर मृगौलादाता आफन्त कोही भेटिनु भएन । मेरो रगत समूह मिल्दैनथ्यो । प्रत्यारोपण गर्न नसकेको पिर मनमा थियो त्यही माथि सरकारले दिने भनेकै निःशुल्क डायलोसिसको सेवा पनि हामीले पाउन सकिरहेको थिएनौ । यही बेला पुर्वप्रधानमन्त्रीलाइ मृगौलामा समस्या भएपछि विदेश लगियो पछि वहाँको दोस्रो पटक नेपालमै प्रत्यारोपण भयो । मिडियामा प्रत्यारोपण एक सामान्य प्रक्रिया भइसकेको र नेपालमा एकदमै सहज खालमा समाचार आए । डायलोसिस पाउन पनि सङ्घर्ष गरिरहेका हामीलाई ती समाचारले निकै पोल्यो । अनि सानुले एउटा लेख कान्तिपुरमा प्रकाशित गरिन । त्यही लेख पछि सोनुको प्रत्यारोपणको लागि भनेर केही साथीहरूले आर्थिक सङ्कलन अभियान पनि चलाउनु भयो । त्यही बेला फन्ड राइजिँगको लागि एउटा गीत निकाल्नेकी भन्ने सोचिरहेको थिए । सरोज केसी जी र म त्यो बेला एउटै अफिसमा काम गर्थ्यौ । उहाँले गीत राम्रो लेख्नुहुन्छ भन्ने कुरा थाहा पाए पछि उहाँलाई गीत लेखि दिन आग्रह गरे । उहाँले हुन्छ पनि भन्नु भयो । तर त्यो गीत लेखिन निकै समय लाग्यो । २०७८ कार्तिक २२ मा सानुले संसार छोडिन । मलाइ समवेदना दिन सरोज जीले फोन गर्दा गुरु त्यो गीत समयमा लेख्न नसकेकामा निकै पछुतो भएको छ भन्नु भयो । फेरी पनि गीत लेख्ने सल्लाह भयो । सोनु बितेको ३, ४ महिना पछि मलाइ एक जना सिलाइ पसलबाट सानुले अर्डर गरेको कपडा तयार भइसकेको भए पनि लग्न पाउनु भएको थिएन । म पसल बेच्दै छु तपाइ यो लुगा लैजानुस् भनेर खबर आयो । 

त्यो लुगा घरमा ल्याएको दिन एकदमै रुन मन लाग्यो । फेसबुकमा त्यो लुगालाई स्याड रियाक्सन सहित स्टोरी पोस्ट गरेको थिए । सरोज जीले पनि के हो भनेर सोध्नु भयो । मलाइ सबै कुरा बताए पछि झल्को तिम्रै लेख्ने माहौल बन्यो । यो गीतले मेरा भावनाहरू मात्र बोकेको छैन । यो गीत आफ्ना प्रियजन गुमाएका सबैलाई आफ्नै झैँ लाग्ने खालको छन् । गीत तयार भए पछि सङ्गीतको लागि हामीले धेरै जनालाई पहल गर्‍यौ । आशिष अविरल जीलाइ शब्द सुनायौ । वहाँलाई पहिलो पटकमै गीतले छोयो । आशिष जीले पनि बाबा आमा गुमाउनु भएकोले शब्द आफ्नै लागि लेखेझैँ महसुस भयो । सङ्गीत तयार भए पछि प्रवीण भेडवाल जीको स्वरमा यो गीत राम्रो सुनिने निष्कर्ष निकाल्यौ  र वहाँले आवाज भरे पछि गीतको अडियो तयार भयो । 

गीतको भिडियोको लागि पनि हामीले धेरै जना निर्देशकहरू सँग कुरा गरेका थियौ । लक्ष्मण जाके रेलकै बाटो आउदैछ केही दिन अघि मात्र सार्वजनिक भएको थियो । अनि लक्ष्मण जीसँग कुरा भयो वहाँले पनि गीतको शब्द र यो गीतको पछाडिको कथा सुनेपछि सँगै काम गर्ने निष्कर्षमा पुग्यौ । 

यती भएपछि हामीलाई सबैभन्दा चुनौती महिला पात्रको खोजिथियो । हामी कथाको महिला पात्रमा सोनुको झल्को खोजिरहेको थियौ । यसको साथै म नन एक्टर भएकोले पनि एक्टरहरुले मेरो अपोजिट काम गर्ने कुरालाइ सहजै स्वीकार नगर्ने समस्या पनि थियो । लक्ष्मण जीले सुरबिना जीको फोटो पठाउनु भयो । केही लुकमा वहाँ ठ्याक्कै सोनुकै झल्को आउने देखिनु भयो । अनि सुरविना जी सँग कुरा शुरुभयो । वहाँले निकै सहज रुपमा हाम्रो प्रस्ताव स्वीकार गरिदिनु भयो । साथै सोनुको क्यारेक्टरमा उत्रिनको लागि सोनुको फेसबुक प्रोफाइल टिकटकहरुको अध्ययनका साथै हाउभाउको लागि कुराकानी समेत गरेर सोनु जस्तै देखिन धेरै मिहेनत पनि गरिदिनु भयो यसका लागि वहाँलाई धेरै धेरै धन्यवाद । हाम्रो रियल स्टोरीमा आधारित कथा भएकोले सुटिँग पनि हामीले महेन्द्रनगर र धनगढीमै गर्ने सल्लाह गरी ५ दिन लगाएर सुटिँग सम्पन्न गरी अहिले भिडियो तपाइहरूको अगाडी छ । यसलाई जीवन्त बनाउनमा यसमा सिनेमाटोग्राफर निशाल पौडेलको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ । 

यो भिडियोमा हामीले माया प्रेम र वियोग मात्र नभई, स्वास्थ्य समब्नधी सन्देशहरुलाइ पनि समेटेको छौ । गर्भावस्थामा हुने इक्लामसिया बिमारी र यसले पुर्‍याउने असरलाइ भिडियोमा सटिकरुपमा देखाइएको छ । यसको साथै मृगौला बिमारीहरूले भोग्नु परेका समस्या र अँगदानमा महिलाहरूलाई प्राथमिकतामा नराख्ने हाम्रो सामाजिक अभ्यासलाई पनि हामीले प्रहार गरेको छौ । नेपालमा अँगप्रत्यारोपणको तथ्याङ्क हेर्दा महिलाहरू अङ्गदाताको रुपमा बढी सङ्ख्यामा भए पनि अङ्ग पाउने महिलाको सङ्ख्या तुलनात्मकता निकै कम छ । यो एक किसिमको लैगिँक विभेद पनि हो । यसलाई हटाउनु पर्छ भनेर अँगदानलाइ प्रोत्साहन गर्ने सन्देश यस गीतमा छ । 

यो गीत मेरो मात्र नभई पछिल्ला दुई वर्षमा कोराना महामारी र स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाएकाहरू र आफ्ना प्रियजन गुमाउनेहरूको प्रति यो गीत समर्पित छ ।