कर्णाली करिडोर निर्माणमा खटिएका एक सैनिकको मृत्यु

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

कर्णाली, २६ साउन । कर्णाली करिडोर निर्माणमा खटिएका एक जना सैनिकको मृत्यु भएको छ ।  करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–१ लालिबगर भन्ने ठाउँमा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको हो ।

उनको मृत्यु बिहीबार बिहान ६ बजेतिर भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । करिडोर निर्माणको क्रममा चट्टाने भीर छिचोल्नका लागि बम बिस्फोट गराउने मेसिन जाँच गर्ने क्रममा उनी चिप्लिएका थिए ।

परियारका अनुसार टिकाराम मेसिन भएको स्थानबाट १०० मिटर तल खसेका थिए । उनका अनुसार मेसिन जाँच गर्ने क्रममै उनीसँगै रहेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा उनको मृत्यु भएको हो । घाइते विष्टको भने नेपालगन्जमा उपचार भइरहेको छ ।