Close This

श्रममन्त्रीको नाम जोडिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं,  २६ साउन । कतार प्रहरीको नाममा फेरि ठगी धन्दा सुरु भन्ने शिर्षकमा आएका समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा मन्त्रालय, वैदेशिक रोजगार विभाग र स्वयं मन्त्री शेरबहादुर कुँवरको नाम जोडिएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

विभिन्न सञ्चारमाध्यममा कतार प्रहरीमा पठाउने भन्दै पुनः भर्ना प्रक्रिया सुरु भएको र त्यसका लागि मन्त्री मुछिएको भन्दै समाचार सम्प्रेषण भएका थिए । अल ताक्वेत ओभरसिजले कतार प्रहरीमा पठाउने भन्दै विज्ञापन आह्वान गरेको थियो । २०० जनाको लागि भन्दै विज्ञापन आह्वान गर्दै अन्तर्वार्ताको मिति समेत तय गरेको थियो । त्यसपछि विभागले बिहीबार छापा मारेर ओभरसिजका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

उक्त विषयमा श्रम मन्त्रालय, स्वयं मन्त्री र विभागका अधिकारीको मिलोमतो रहेको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । उक्त समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । विना प्रमाण, कपोकल्पित, काल्पनिक समाचार सम्प्रेषण गरी मन्त्रालय र स्वयं मन्त्रीको नाम जोडेर वैदेशिक रोजगार प्रणालीमा भ्रम सिर्जना गर्ने, व्यक्तिगत चरित्र हत्या गर्ने काम भएको भन्दै मन्त्रालयले खेद प्रकट गरेको छ ।

उक्त कार्य मन्त्रालय र मन्त्रीको कुनै पनि किसिमको संलग्नता नरहेको प्रवक्ता घिमिरेले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकार स्वदेशी तथा वैदेशिक रोजगारीमा सुधार गरी सुरक्षित, भरपर्दो, निष्पक्ष, पारदर्शी, मर्यादित र न्यायिक व्यवसाय बनाउनतिर लागेको मन्त्रालयले प्रष्ट पारेको छ ।