Close This

म चुनावमा उठौँ कि बसौँ ?

शुक्रबार भदौ १०, २०७९/ Friday 08-26-22
डा.टीकाराम पोखरेल

देशमा चुनाव घोषणा भएको छ । वातावरण पुरै चुनावमय भएको छ । सिंहदरबारदेखि बेघरबार सम्म, चुलोदेखि मुसाको दुलोसम्म, गगनचुम्बी महलदेखि सडकसम्म, पाँचतारे होटेलदेखि चिया पसलसम्म जताततै चुनावी चर्चा छ । एकथरि मलाई भन्छन्– “तपाईँपनि चुनावमा उठ्नुपर्छ ।”

अर्काथरि भन्छन्– “तपाईँ चुनावमा लड्नुपर्छ ।” लडौँ कि उठौँ ? म भने रनभुल्लमा छु । उठौँ भने लड् भन्नेले भोट नदेलान्, लडौँ भने उठ् भन्नेले भोट नदेलान् । दोधारमै मेरो चुनावी अभियान जारी छ । तर लड्ने कि उठ्ने भन्ने टुङ्गो भने लागेको छैन । कि लड्ने कि उठ्ने, दुईमा एकचाहिँ निश्चित छ । हिजो एउटाले भन्यो– “तपाईँले जसरी पनि चुनाव जित्नुपर्छ ।” जसरी भनेको कसरी ? यसरी भन्ने मसँग आइडिया छैन । जसरी पनि जित्नुपर्छ भन्नेसँग पनि त्यसरी जित्ने भन्ने उत्तर नै छैन । त्यसो त आज अर्कोले भन्छ– “तपाईँले जसरी भए पनि विपक्षीलाई हराउनुपर्छ ।”

जसरी पनि हराउनु भनेको कसरी ? फेरि त्यही जसरी, कसरी, यसरी, त्यसरीको शृङ्खला पुनरावृत्ति हुन्छ । ...जे होस म चुनावको तयारीमा छु । लड्ने कि उठ्ने भन्नेमा भने रनभुल्लमै अझै रनभुल्लमै छु । अचानक बाल्यकालको सम्झना आयो । नोष्टाल्जिक भएँ म । बाल्यकालमा गाई वस्तु चराउन भिर पाखा दौडिँदा म कति पटक लडेँ लडेँ, अनि जति पटक लडेँ, त्यति पटक उठेँ पनि । लडेको पनि हुँ, उठेको पनि हुँ, मात्र चुनावमा नलडेको र नउठेको न हुँ । भनिन्छ– “अनुभवभन्दा ठुलो विश्वविद्यालय अर्को छैन ।” लडेका र उठेका प्रमाणपत्र मेरा जति अरू कसका छन् ? त्यसैले अनुभवको सदुपयोग गर्दै यस पटक म चुनावमा लड्छु, उठ्छु, भिड्छु, उम्मेदवार बन्छु, मनोनयन दर्ता गर्छु । जित्न परे जित्छु, अरूलाई हराउन परे हराउँछु । कसले भन्छ म डराउँछु ? पार्टीले टिकट नदिए अर्को पार्टी प्रवेश गरेर टिकट लिन्छु । अर्को पार्टीले पनि नदिए तेस्रो पार्टीमा जान्छु । त्यसमा पनि नमिले स्वतन्त्र लड्छु । लड्न तयार भएपछि लड्ने ठाउँको के खाँचो ? मात्र लड्न जान्नु प¥यो । लडेको अनुभव मसँग छँदैछ । म मज्जाले लड्छु ।

उठेको पनि अनुभव छ मसँग । मज्जाले उठ्छु । म गाउँ गाउँबाट उठ्छु, म बस्ती बस्तीबाट उठ्छु । म सहर सहरबाट लड्छु, म नगर नगरबाट लड्छु । लड्नु चुनावको धर्म हो, उठ्नु चुनावी कर्म हो । मेरो अठोट अटल छ । म लड्छु लड्छु । म उठ्छु उठ्छु ।

...मलाई धेरैले भन्छन्– “लडेपछि उठ्नुपर्छ, उठेपछि बस्नुपर्छ ।” यो चाहिँ के भनेको ? म अलमल्ल पर्छु । म चुनावमा लड्न तयार छु, म चुनावमा उठ्न तयार छु । तर बस्ने चाहिँ कहाँ ? चुनाव अर्कैले जित्छ । जसले जित्छ, कुर्सी त उसैको भागमा पर्छ, उही कुर्सीमा बस्छ । लड्ने मेरो धर्म, उठ्ने मेरो कर्म । म जित्न होइन लड्न र उठ्न पो चुनावमा लागेको हुँ । त्यसैले म लडेँ भने नउठ्ने गरी लड्छु । उठेँ भनेँ उठेको उठेकै हुने गरी उठ्छु । हैट ! म उठेपछि थोरै कहाँ बस्छु ?