Close This

नेपालमा डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या २० जना पुग्यो

सोमबार असोज ३, २०७९/ Monday 09-19-22
Paschim Today

काठमाडौँ,३ असोज  । नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ ।देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाडौँ उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ । अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको सुझाव छ ।

यसैबीच दाङमा निजी क्लिनिक तथा अस्पतालहरूले डेङ्गी परीक्षणको शुल्क मनपरी रूपमा लिइरहेको स्थानीयले गुनासो गरेका छन् । डेङ्गी परीक्षण गर्दा अस्पतालअनुसार पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसमेत लिने गरेका हुन् ।

सरकारी अस्पतालमै पनि फरक–फरक शुल्क रहेको छ । घोराहीमा रहेका गोरखा अस्पताल र बुद्ध अस्पतालले डेङ्गी परीक्षणको शुल्क एक हजार पाँच सय रुपैयाँ लिने गरेका छन् । मितेरी अस्पतालले एक हजार दुई सय, सङ्गम पोलिक्लिनिकले एक हजार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आठ सय, राप्ती प्रादेशिक अस्पतालले सात सय र राप्ती गाउँपालिकाको स्वास्थ्य चौकी सिसनियाले पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी परीक्षण गर्ने टेस्ट र्‍यापिड किटलाई तीन सय रुपैयाँ पर्दछ । जिल्ला स्वास्थ्य कार्यालय दाङले शुल्क निर्धारण र अनुगमनको काम सङ्घीय मन्त्रालयको रहेको जनाएको छ ।