Close This

गौरा, डेउडा र देउवा

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22
दीर्घराज उपाध्याय

सुदूरपश्चिमको आफ्नै मौलिकता छ । आफ्नै इतिहास, संस्कृति र पहिचान छ । तर यो प्रदेशलाई बाहिरी आँखाले चिन्ने भने तीन वटा कुरा छन्, गौरा, डेउडा र देउवा । भाषिक र सांस्कृतिक विविधतामा हुर्किएको सुदूरपश्चिममा माघी, ओल्के, विसु जस्ता मौलिक पर्वहरू पनि छन् ।

गौरा नआई सुदूर पश्चिममा दशैं पनि आउदैन । गौरा आयो । दशैं आयो । गौरा आएन । दशैं आएन । गौरा दशैं ल्याएर आउछ । खुशी ल्याएर आउछ । आशा ल्याएर आउछ । उमंग ल्याएर आउछ ।

डेउडा छैन त सुदूर पश्चिमको पहिचान छैन । सुदूर पश्चिम र डेउडा एक अर्काका पर्याय हुन् । जसरी डेउडाको लयमा पैतालाहरु मिलाउनु पर्दैन । आफै मिल्छन् । संगै चल्छन । संगै सर्छन । र पछि हट्नु परेपनि संगै हट्छन । सुदूरपश्चिम र डेउडा सदियौंदेखि त्यही लयमा चलेका छन् ।

गौरा र डेउडाको विषयमा अर्को लेखमा चर्चा गर्नेछु । यस लेखमा भने प्रधानमन्त्री शेर बहादुर देउवा र आसन्न निर्वाचनका उम्मेदवारका विषयमा चर्चा गर्दैछु ।

डडेल्धुराको रुवाखोलाको गरिब परिवारमा जन्मिएका शेर बहादुर देउवाले कसैको आशीर्वाद वा कृपाले यो मुकाम हासिल गरेका होईनन । उनी कठिन मिहिनेत र अविचलित रुपमा लोकतन्त्रका लागि गरेको सङ्घर्षबाट खारिएर आएका हुन् । नेपाली काँग्रेसमा कोइरालाहरूको विरासतका विरुद्ध बगावत गर्नेहरूको राजनीति नै समाप्त भएको छ । जीवनको उत्तरार्द्धमा पार्टीबाट किनारा लगाइएका कृष्ण प्रसाद भट्टराई, लौह पुरुष गणेश मान सिंह लगायत तमाम उदाहरणहरू छन् । जुन पार्टीको साधारण सदस्य समेत नरहने गरी देउवा कारबाहीमा परे । त्यही पार्टीको केन्द्रीय समितिमा दुई तिहाइ बहुमत सहित देउवा सभापतिमा त्यत्तिकै निर्बाचित भएका होईनन । र, उनी कसैको कृपा र अनुकम्पाले पाँच पटक प्रधानमन्त्री भएका होईनन ।  उनका सदाबहार प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले बिना हिचकिचाहट यो कुरा टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिव्यक्त गरे ।  भट्टले आफ्नै प्रतिस्पर्धी देउवाको राम्रा पक्ष र योगदानका बारेमा प्रशंसा गर्न अलिकति पनि कन्जुस्याइँ गरेनन् । यही हो राजनैतिक संस्कार । 

प्रजातन्त्रको पुनर्स्थापनापछि देउवा सधैँ सत्ता र शक्तिको केन्द्रमा रहे । एक थरीको दाबी छ, सुदूरपश्चिम देशको बाँकी भूभागसँग जोड्ने नै देउवा हुन् । अर्को थरी भन्छन्, सुदूर पश्चिममा देउवाले के गरे रु लोकतन्त्रमा प्रश्न गर्ने सबैलाई छुट छ ।  तर त्यस्तो आरोप लगाउनेहरूले सत्तामा देउवाभन्दा लामो समय रहेका अन्य दलका वा आफ्नै दलका नेताहरूलाई किन प्रश्न सोध्दैनन् ?

कर्णाली र सुदूर पश्चिमको विकासको तुलना हुँदैन । सुदूर पूर्व र कर्णालीको पहाड भन्दा सुदूरपश्चिमका पहाडमा विकास छ ।प्रधानमन्त्री देउवाका तमाम गुण र दोष होलान् । सुदूरपश्चिममा अर्को शेर बहादुर देउवा अबको सय वर्षसम्म जन्मिने छैन । र, तत्काल उनीजस्तै सत्ता र शक्तिको केन्द्रमा पुग्ने अर्को नेता सुदूरपश्चिममा न नेपाली काँग्रेसमा छ, न त अरू पार्टीमा । 

विगतमा काठमाण्डौंमा सुदूरपश्चिमेलीलाई गर्ने व्यवहार कस्तो थियो ? आज कस्तो छ ? सुदूरपश्चिमका बासिन्दाहरूका बिचमा देखिने भेगीय एकता र शक्ति केन्द्रमा देउवा रहेका कारण पनि सुदूरपश्चिमेलीहरुमाथि काठमाण्डौंमा हुने दुर्व्यवहार र निषेध पक्कै पनि कम भएको हो । माने पनि नमाने पनि देउवा यो देशको प्रमुख शक्ति केन्द्र हुन् । अबको पाँच वर्ष यो देशको राजनीति उनकै वरिपरि केन्द्रित रहनेछ । 

यद्दपि काठमाण्डौंसंग सुदूरपश्चिमलाई जोड्न बझाङी राजा जयपृथ्वी बहादुर सिंह, शहिद दशरथ चन्द ठाकुर, द्धारिकादेवी ठकुरानी र डा. केआईसिंह लगायत थुप्रै व्यक्तिहरुले खेलेको भूमिका र योगदान कम्ति छैन । अझ समाज सुधारक भीमदत्त पन्तको बिद्रोह पनि स्मरणीय छ ।

संसारको हामी जुन सुकै देशमा जाऔँ । त्यहाँ हामीलाई चिन्ने र जोड्ने तीन वटा कुरा हुन्, गौरा, डेउडा र देउवा । यसलाई कसैले स्वीकार गरोस् वा नगरोस् । फरक र अप्रसांगिक जस्ता लाग्ने दुई वटा विषय एकै साथ चर्चा गर्दा लाग्न सक्छ, यी विषयहरूबिच के तालमेल छ । 

आफ्नै पार्टी भित्र फरक खेमाका नेतालाई स्वीकार गर्न नसक्ने प्रवृत्ति राजनीतिमा हाबी भएका बेला खगराज भट्टले नेपाली काँग्रेसका सभापति देउवालाई लिएर गएको सकारात्मक टिप्पणीबाट अन्य राजनीतिकर्मीले पनि पाठ सिक्न सक्छन् । अझ चुनावको मुखमा आफ्नै पार्टीका फरक गुट र खेमाका नेताहरूलाई निषेध र तेजोवध गर्नेहरूका लागि त भट्टको यो टिप्पणी सिक्नु पर्ने पाठ हो ।

देउवा के हुन् ? के होईनन ? यो त प्रतिपक्षी दलकै नेता भट्टले भनिसके । यसमा थप व्याख्या गरिरहन पर्दैन । कसैले स्वीकार गरे पनि । नगरेपनि । देउवा सदियौंदेखि उत्पिडनमा परेको सुदूरपश्चिमको मियो हुन् । जसले सुदूरलाई काठमाण्डौंंसंग जोडे । काठमाण्डौंलाई डडेल्धुरा पुर्याए । तमाम गुण र दोषका बाबजुद देउवा सुदूरपश्चिमको पहिचान हुन् ।

 

प्रसङ्ग निर्वाचनको, चर्चा उम्मेदवारहरूको  

मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभाको निर्वाचनका लागि यति बेला को उम्मेदवार बन्ने भन्ने चर्चा भइरहेको छ । हरेक नेता र कार्यकर्ताहरू आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षीहरूका आफ्नै दाबी छन् । सामाजिक सञ्जालदेखि पत्रपत्रिका र अनलाइनहरू उम्मेदवारहरूको दाबी, विरोध र चर्चाले भरिएका छन् । 

जब चुनाव नजिकिँदै जान्छ । तब एकथरी अतिवादीहरू जातीय र भेगीय नारा ओकेल्न थाल्छन् । कहाँ को उम्मेदवार बन्न पाउने रु कहाँ कसले उम्मेदवारी दिन नपाउने ? यस्तो लाग्छ, सबै कुरा उनीहरूले तय गर्ने हुन् । सम्पूर्ण शक्ति र निर्णय उनीहरूमै निहित छ ।  

बाजुराका डा.अङ्गराज तिमिल्सेना र नैन सिंह महर धनगढीबाट चुनाव लड्ने कुरा हुँदा एक थरीलाई ज्वरो आउँछ । डा. आरजु राणा देउवाका विरुद्ध विष बमन गर्नेहरूको चित्त उनलाई समानुपातिक तर्फको सूचिमा राखिएपछि पनि बुझेको छैन । अरू बेला उनीहरू नर नारायण शाहलाई पनि पूर्वको देख्छन् । र, उनलाई रोक्न न्वारनदेखिको बल लगाउँछन् । तर जब अर्को व्यक्तिबाट आफ्नो स्वार्थ र उद्देश्य पुरा नहुने देख्छन्, तब उनीहरूलाई मनु शाह याद आउँछन् । कसलाई कसरी र कुन नाराले रोक्न सकिन्छ, अहिलेसम्म धनगढीमा यही प्रयोग भएको छ । 

हिजो आरजु राणालाई प्रधानमन्त्री शेर बहादुर देउवाकै पत्नी भएका कारण टिकट किन दिने ? उनको पार्टीमा के योगदान छ ? भन्नेहरूले अहिले समानुपातिकमा बसेर पहुँच नहुनेहरूको भाग खोस्ने भनेर आलोचना गर्न थालिसकेका छन् ।

निर्वाचनको सुन्दरता भनेकै आफूलाई मन पर्ने उम्मेदवारलाई जिताउने हो । मन नपर्नेलाई हराउने हो । उनले जनता माझ गएर निर्वाचन मार्फत अनुमोदित हुन पनि नपाउनु ? के उनलाई देउवाकी पत्नी भएकै कारण निर्वाचन लड्ने अधिकार छैन त ? 

राप्रपा र विभिन्न पार्टीबाट आएकाहरू काँग्रेसबाट सांसद, मन्त्री र राजदूत भईसके । तर अविछिन्न रुपमा झन्डै तीन दशकदेखि नेपाली काङ्ग्रेससँग जोडिएकी डा. आरजु देउवा के कारण उम्मेदवार हुन अयोग्य ?  उनको अपराध के हो ? 

एउटा पुरुष उम्मेदवार हरेक निर्वाचनमा उम्मेदवार हुन्छ । त्यो पनि सधैँ फरक फरक निर्वाचन क्षेत्रबाट । उसमाथि कसैले प्रश्न उठाउँदैन । तर एउटा महिलामाथि भने निरन्तर रुपमा प्रहार भइरहन्छ । यो उसको निर्वाचन क्षेत्र होइन । 

कतिपयको दाबी छ, उनी भ्रष्ट छन् । मनोगत आरोपले कुनै पनि कुराको पुष्टि हुँदैन । के राज्यका न्यायिकबाट त्यसको पुष्टि भएको छ ? वा उनीमाथि कुनै अभियोग प्रमाणित भएर उनी कसुरदार ठहरिएकी छन् ? पुष्टि नभएका आधार लगाएर राणालाई प्रताडित गर्नेहरू नै कुनै अभियोगमा जेल परेकालाई जिताउँछन् । यसले पनि देखाउँछ, समस्या व्यक्तिमा होइन, समस्या नियतमा हो । सोचमा हो । 

आजका मितिसम्म न म लाभको पदमा बसेको छु । न कुनै नियुक्ति वा अवसर लिएको छु । न त आगामी दिनमा नै लिनेछु । सुदूरपश्चिमको पत्रकारिता र सामाजिक क्षेत्रमा नै आगामी दिनमा सक्रिय रहनेछु । पुष्टि हुन नसकेका आरोपबारे मलाई बहस गर्नु छैन । हो, धनगढीको विकास र अझ सुदूर पश्चिमको विकासका लागि कुन पात्र उपर्युक्त हुन सक्छ । बहस त त्यसमा हुन पर्छ । धनगढीको विकासका लागि डा. आरजु राणा सबैभन्दा उपर्युक्त पात्र हुन भन्नेमा यो पङ्क्तिकारको कुनै दुबिधा थिएन । छैन । यसमा जो सुकैसँग स्वस्थ बहस गर्न जुनसुकै बेला तयार छु । यो भने बापत आई लाग्ने सबै आरोप सहर्ष स्वीकार गर्छु । यो जरुरी छैन कि हरेक व्यक्तिका सबै तर्क र कुरा सबैलाई मन पर्छन् । फरक मत र अल्पमतको सम्मान गर्ने व्यवस्था नै लोकतन्त्र हो । यही नै हो, लोकतन्त्रको सुन्दरता ।

हाम्रै घरभित्र पनि विविधता छ । एउटा बुहारीको माइती बर्मामा छ । अर्कीको झापा । अर्की बुहारीको माइती दिल्ली । छोराले अमेरिकन युवती बुहारीका रुपमा भित्र्याएको छ । परिवारमै यति विविधता छ । जहाँ सबै अटाएका छन् । तर हामीलाई नेता भने आफ्नै जिल्ला र जातको चाहिने । यो भन्दा संकिर्ण सोच अरू के हुन सक्छ ?

हरी भण्डारी अमेरिकामा चुनाव लड्छन् । जित्छन् । त्यहाँ उनी कुन देशबाट आएका हुन् भन्ने कुरा गौण हुन्छ । विडम्बना, विकास र व्यवस्था अमेरिकाको रुचाउनेहरू जात र जिल्लाभन्दा माथि भने उठ्दैनन् । बेलायत र क्यानडामा भारतीय मूलका व्यक्ति निर्बाचित भएर त्यहाँको सर्वोच्च पदमा पुग्न सक्छन् । पुगेका छन् । बेलायत, क्यानडा र अमेरिकाको जस्तो विकास रुचाउनेहरू जात र जिल्लाभन्दा माथि भने उठ्दैनन् । 

जब मान्छे आफ्नो क्षमतामाथि विश्वस्त हुँदैन । जब मान्छे आफूलाई कमजोर ठान्छ । तब उसले आफूभन्दा बढी क्षमता भएको व्यक्तिलाई निषेध गर्न तर्क होइन, जात र वर्गका कुरा गर्छ । भेग र भूगोलका नारा लगाउँछ । कहीँ म ओझेलमा पर्ने त होइन भन्ने उ भित्र डरले डेरा जमाउँछ । तब उसले तर्क होइन । कुतर्क गर्छ । क्षमता हुनेहरूले प्रतिस्पर्धा गर्छन् । तर्क गर्छन् । कुर्तक होइन । 

धनगढीको विकासको कसैलाई चिन्ता होइन । यहाँ त चुनाव लड्ने मान्छे मेरो खेमाको हो कि होइन ? मेरो जिल्लाको हो कि होइन ? अझ हुँदा हुँदा मेरो जात र गर्खाको हो कि होइन भन्नेसम्म संकिर्ण सोच राख्नेहरू हाबी हुन थाले । अर्ति दिन थाले ।धनगढीलाई धनगढी नै रहन देऊ । यसलाई डोटी, डडेल्धुरा, अछाम नबनाऊ । धनगढीयन हुनुमा गर्व गरौँ । आसाम, सिक्किम,म्यानमार र दार्जिलिङका मान्छेहरू यही छन् । ताप्लेजुङ र जनकपुरका मान्छे यही छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लाका मान्छे यही छन् । ७७ जिल्लाको यो सङ्गम हो । यही विविधता नै धनगढीको सुन्दरता हो । यसलाई जात र जिल्लामा नबाडौ । 

जुन दिन उम्मेदवारको जात र जिल्ला हेर्न छोड्ने छौ । त्यही दिन धनगढीको विकास हुनेछ । उम्मेदवारको क्षमता हेरौँ । हिजो उनीहरूले यो क्षेत्रको विकासमा के कति योगदान पु¥याए । आगामी दिनका लागि उनीहरूसँग के कस्ता योजना छन् ? धनगढीमा विकास गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट ल्याउने उनीहरूले सामर्थ्य राख्छन् कि राख्दैनन् ? उनीहरूले सपना बाड्छन कि निराशा ? त्यो हेरौँ । 

आरजु देउवा निर्वाचनमा पराजित भए पनि उनले आफ्नो क्षेत्र छोडिनन् । यहाँको विकासका लागि अहोरात्र खटिइन । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमले साकार रूप लिँदै छ । गेटा मेडिकल कलेज र धनगढी विमानस्थलको सञ्चालन र स्तरोन्नति तीव्र गतिमा अघि बढिरहेको छ।

हिजो म समानुपातिकबाट आउँदैन । जनता माझ जान्छु । जनताबाट प्रत्यक्ष निर्बाचित भएर आउँछु भन्दा पनि राणालाई लखेटे । पार्टी सभापति देउवाकी पत्नी भएका कारण राणाले टिकट पाउने, भनेर आलोचना गरियो ।अहिले उनी पार्टीको संसदीय बोर्डको निर्णय अनुसार समानुपातिकको सूचिमा छन् । १६५ वटै निर्वाचन क्षेत्रमा प्रचारका लागि खटाउने पार्टीको निर्णय स्वीकार गर्दै उनले समानुपातिक सूचि रोजिन । अव उनलाई देउवाकी पत्नी भएकै कारण समानुपातिकमा राखियो भनेर विरोध हुनेछ । आलोचना हुनेछ ।

हिन्दीमा एउटा गीत छ, कुछ तो लोग कहेंगे । लोगोको काम है कहेना ।

जब संसारका विकसित मुलुकहरूको भ्रमणमा जान्छु । तब त्यहाँबाट फर्किदा सोच्छु, मेरो देश, मेरो सुदूर पश्चिम कहिले यस्तो होला ?

तब सोच्छु, यहाँका जस्ता दृष्टि, सोच र योजना भएका नेता पाए त पक्कै विकास हुन्थ्यो । फेरि सोच्छु, हामीलाई त आफ्नै जात, जिल्ला र गर्खाको नेता चाहिएको छ । विकास त कसलाई छु मतलब ।

कसैले भनोस्, धनगढीको विकासका लागि यस्ता योजनाहरू छन् । म यसरी विकासका लागि बजेट ल्याउनेछु । म पाँच वर्षमा धनगढीलाई विकासको उचाइमा यसरी पु¥याउनेछु । 

संसारको जति सुकै विकसित देशमा पुगे पनि प्यारो लाग्ने धनगढी नै हो । यो भूमिमा टेक्नुको आनन्द नै बेग्लै महशुस हुन्छ । मलाई यो ठाउँ छोडी कहीँ जानु छैन । र, म चाहन्छु, मेरो छोराछोरीको पुस्ताले पनि ती सबै सुख सुविधा यही पाओस्, जो संसारका विकसित शहर र देशमा पाइन्छ । म झैँ मेरो छोराछोरी पुस्ता पनि संसार घुमोस् । त्यहाँको सभ्यता र विकास बुझोस् । फर्केर यही काम गरोस् । यहीको माटोमा पसिना बगाओस् । यहीको विकासमा हातेमालो गरोस् । यहीका नागरिकको दुःख र पीडामा साथ देओस् ।

त्यस्तो सुखसुबिधा र विकासका योजना भएका र ती योजनालाई कार्यान्वयन गर्न सक्ने सोच, सामर्थ्य र पहुँच भएको उम्मेदवार यति बेला धनगढीका लागि चाहिएको छ । सुदूर पश्चिमका हरेक निर्वाचन क्षेत्रलाई त्यस्तै उम्मेदवारको खाँचो छ । त्यसका लागि व्यक्तिगत रिस,राग, कुण्ठा,घृणा, जातीय र भेगीय भावना त्याग्न भने जरुरी छ ।

के आधारमा टिकट दिने ? कुनै जाति र जिल्लाका मान्छेको बसोबास बढी हुनुलाई आधार बनाउने कि ? राजनीतिमा जेलनेल बिताएको कुरालाई मूल्याङ्कन गर्ने ?  के हो मापदण्ड ? मलाई मन पर्छ । मेरो जिल्लाको हो । मेरो गुटको हो । मेरो जातको हो । म झैँ उ पनि कुनै गुटबाट पाखा लगाइएको हो । के यही हो मापदण्ड ? 

जात होइन । उसको क्षमता हेरौँ । कुन भूगोलबाट आएको हो, त्यो नहेरौँ, उसको निष्ठा यो भूगोलप्रति छ कि छैन, त्यो हेरौँ । हो, उसको क्षमता हेरौँ । टिकटका लागि टिकट दाबी गर्छ कि ऊसँग केही विकासका स्पष्ट खाका र योजनाहरू छन् ? हेर्नु पर्ने कुरा त यी पो हुन् । यिनैलाई बहसको विषय बनाऔँ । लोकतान्त्रिक व्यवस्थामा स्वस्थ आलोचना गर्न छुट छ । तर कसैलाई कोही व्यक्ति मन नपर्दैमा उ त्यही कारण अयोग्य हुँदैन ।