अल्पसंख्यकको मुद्दामा स्थानीय तह गम्भीर नभएको गुनासो

धनगढी,६ असोज । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा स्थानीय तह गम्भीर नभएको गुनासो गरिएको छ । धनगढीमा बिहीबार सञ्चारकर्मीहरूसँग भएको छलफलमा यस्तो गुनासो गरेको हो ।
ब्लु डायमण्ड सोसाइटीको आयोजनामा सञ्चारकर्मीहरूसँग गरेको छलफलमा स्थानीय सरकारसँग आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ ।यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु पनि सम्बोधन गर्नुपर्छ भनेर स्थानीय सरकारसँग आग्रह गरेको सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले बताए । कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटाले मात्र आफ्नो समुदायलाई नीति तथा कार्यक्रममा समावेश गरेको देखिएको उनले बताए ।
‘थोरै भए पनि कैलालीका कैलारी, भजनी, टीकापुर र सुखडले मात्र सम्बोधन गरेको देखिन्छ’, उनले भने ‘अन्य स्थानीय तहलाई आफूहरूले अनुरोध गर्दा पनि बेवास्ता गरेको देखियो ।’
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सामाजिक संस्कार, रहनसहन तथा राज्यको नीतिका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू खुल्न नसकेको बताइन् ।
‘समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकहरू धेरै रहेका छन’,उनले भनिन् ‘तर, सामाजिक रहनसहनले गर्दा पनि खुलेर आउन सकेको अवस्था छैन् ।’
अधिकार सुनिश्चितताका लागि समाजमा धेरै सघर्ष गर्नुपरेको उनले बताइन् । नागरिकता लिँदा देखि निर्वाचनमा भाग लिँदा सम्म आफ्नो समुदायलाई सहज नभएको उनले बताइन् । राजनीतिक दलहरूले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु बेवास्ता गर्ने गरेको उनको भनाई रहेको छ ।
तपाईको प्रतिक्रिया