Close This

नेपाल महिला संघको प्रदेश स्तरीय प्रशिक्षण पोखरामा सम्पन्न

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

प्रदेश र संघीय निर्बाचनमा महिलाहरुलाई उम्मेदवार बनाउन जोड
पोखरा, ६ असोज ।
नेपाल महिला संघ केन्द्रीय समितिको आयोजनामा गण्डकी प्रदेश स्तरीय  प्रशिक्षण कार्यक्रम आज बिहीवार कास्कीको पोखरामा सम्पन्न भयो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले महिलाहरुले संघीय र प्रदेश सभाको निर्बाचनमा महिलाहरुको अर्थपूर्ण उम्मेदवारी सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

उनले पार्टी, संसद, सरकार र राज्यका हरेक तहमा संबिधानको मर्म अनुसार महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका उपसभापति गुरुङले सतिप्रथा देखि बालबिबाहका बिरुद्ध लड्ने योगमाया साहस र हिम्मतकी प्रतिरुपी भएको चर्चा गर्दै योगमायाको  योगदान र साहस महिलाहरुका लागि अनुकरणीय रहेको बताए । उनले बिकृति र बिसंगतिका बिरुद्ध अविछिन्न रुपमा लड्ने योगमाया सबैका लागि प्रेरणाको स्रोत रहेको बताए ।

उपसभापति गुरुङले महिलाहरुको सहभागिता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए ।

बिशिष्ट अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जनताको जीवनमा परिवर्तन ल्याउने कार्यक्रम ल्याउन काँग्रेस नेतृत्वलाई आग्रह गरे ।

राज्यका हरेक तहमा महिलाको सहभागिता अनिवार्य भएको र काँग्रेसले त्यसलाई निर्बाचनबाटै सुनिश्चित गर्नुपर्ने शर्माको भनाई थियो ।

उनले कम्युनिष्टका नराम्रा कुरा काँग्रेसले ग्रहण गरिरहेको र काँग्रेसका राम्रा कुराहरु कम्युनिष्टहरुले ग्रहण गरिरहेको बताए ।
उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगमा हुर्किएको काँग्रेसले त्यो जगलाई बिर्सिन नहुने बताए ।

नेपाल महिला संघको सभापति उषा मिश्रले व्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनमा महिलाहरुको सहभागिता र हिस्सेदारीको प्रशंसा गरेर नथाक्ने दलहरुले राज्यका हरेक तहमा महिलाहरुको सहभागिता सुनिश्चित गरे मात्र महिलाहरुको सम्मान हुने बताईन ।

उनले प्रदेश र संघीय निर्बाचनमा महिलाहरुलाई उल्लेख्य संख्यामा उम्मेदवार बनाउन पार्टी नेतृत्वसंग जोडदार माग गरिन ।

महिला संघले देशका ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको जानकारी दिदै सभापति मिश्रले पोखरापछि अन्तिम प्रशिक्षण कार्यक्रम सुदूरपश्चिममा आयोजना गर्न लागेको जानकारी दिईन ।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका सचेतक  ओमकला गौतम महिलाको सहभागिता कुरामा मात्र होईन व्यबहारमा कार्यान्वयन गर्न आग्रह गरिन ।

एनडिआईको सहयोगमा आयोजित प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटा जिल्लामा प्रदेश र संघीय निर्बाचनका आकांक्षी महिला उम्मेदवारहरुको सहभागिता रहेको थियो । महाधिबेशन प्रतिनिधि मुना भुषालले स्वागत मन्तव्य व्यक्त गरेको प्रशिक्षण कार्यक्रममा  नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि सरस्वती गुुरुङ लगायतका नेताहरुले आसन्न प्रदेश तथा संघीय निर्बाचनमा संबिधानको मर्म अनुसार महिलाहरुलाई उम्मेदवार बनाउन पार्टी नेतृत्वसंग आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा निर्वाचन आयोगकी पूर्व आयुक्त डा. ईला शर्मा र ट्युनिसियाका ईन्टरनेशनल पोलिटिकल पार्टी कन्सलट्याण्ट नेविल चिमेकले राजनीति, महिला र निर्बाचन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
एनडिआईका सन्तोष साह, ओजेस्विनी सिंह, ज्योती बैद्यको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको सञ्चालन सुजी गुरुङले गरेकी थिईन ।