Close This

दलित महिला वडा सदस्य तथा युवाहरूसँग धनगढीमा छलफल

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

धनगढी,६ असोज । धनगढीमा दलित महिला वडा सदस्य तथा युवाहरूसँग छलफल सम्पन्न भएको छ । छलफल तथा कार्यक्रममा महिला वडा सदस्यले आफूहरू नयाँ भएका कारण काम गर्न सहज नभएको बताएका छन् । पछिल्लो समय भएको स्थानीय तहको निर्वाचनमा विभिन्न वडामा दलित महिला वडा सदस्य छानिएका छन् ।

धनगढी उपमहानगरपालिकाका पनि १९ ओटै वडामा वडा सदस्य छानिएका छन् । तर पनि आफूलाई कुन काम गर्ने विषयमा जानकारी नहुँदा त्यतिकै बस्नु पर्ने बाध्यता रहेको उनीहरूलाई बताउँछन् ।

स्थानीय तहको वडा सदस्यमा निर्वाचित भए पनि कतिपय महिला वडा सदस्यलाई के गर्ने भन्ने विषयमा नै जानकारी नभएको बताउँछन् । धनगढी उपमहानगरपालिका वडा न ८ की वडा सदस्य अमृता कामीले दलित महिला वडा सदस्यलाई के काम गर्ने भन्ने नै थाहा नहुने बताइन् । कहिले काहीँ वडा कार्यालयमा छलफल हुने भए पनि तर अन्य विषयहरूमा आफूलाई थाहा नहुने बताइन् । ‘हामीहरूलाई पनि केही तालिम तथा कार्यक्रमको आवश्यकता रहेको छ, उनले भनिन् ।,’ नयाँ नयाँ छौ धेरै काम आउँदैन । महिला वडा सदस्यमा पढेलेखेका मात्रै नभएर सामान्य लेखपढ गर्ने महिला पनि चुनिएका छन् ।

सबै महिलाहरू कामको अनुभव नहुँदा समस्या हुने गरेको छ । वडामा आउने बजेट तथा कार्यक्रमका विषयमा पनि सबै कुरा उनीहरूले थाहा नपाएको बताउँछन् । यस्तै धनगढी उपमहानगरपालिका ७ की इन्द्रादेवि लुहारले आफू वडा सदस्य भएकोमा खुसी व्यक्त गरिन् । तर आफू धेरै पढ्न लेख्न नसक्ने हुँदा धेरै विषय आफूलाई थाहा नहुने बताइन् । वडा अध्यक्ष नभएका समयमा कार्यवाहक अध्यक्षको भूमिका निभाए पनि तर आफूलाई के गर्नु पर्ने विषयमा धेरै जानकारी नभएको बताइन् ।

दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले दलित महिलाका हक र अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । उनीहरूलाई जानकार बनाउन स्थानीय तहले पनि कार्यक्रमहरू गर्नुपर्ने बताइन् । धेरै महिला सक्षम नभएका कारण पनि उनीहरूलाई कसरी सक्षम बनाउन सकिन्छ यस विषयमा स्थानीय तहले ध्यान दिनु पर्ने उनले बताइन् ।

कार्यक्रमको सहजीकरण अध्यक्ष घिमिरेले गरेकी हुन् । दलित महिला अधिकार मञ्च धनगढीले आयोजना गरेको कार्यक्रममा १९ ओटै वडाका वडा सदस्य, महिला तथा युवाहरूको सहभागिता रहेको थियो ।