Close This

यो वर्ष फेरि धान बालीमा नोक्सान, किसान चिन्तित

शुक्रबार असोज ७, २०७९/ Friday 09-23-22
Paschim Today

धनगढी,७ असोज । गतवर्ष बेमौसमी वर्षा र त्यसपछि आएको बाढीका कारण धान बाली गुमाएका कैलाली, कञ्चनपुरका किसान यो वर्ष फेरि त्यहि समस्या भोग्न बाध्य भएका छन् ।गत शनिबार आएको बाढीले धान बालीमा नोक्सान गरे पनि किसान चिन्तित भएका छन् । पाक्नै लागेको धान बालीमा बाढीले नोक्सान गरेपछि उनीहरु चिन्तित भएका हुन ।

गएको शनिबार आएको बाढीले किसानको धान बालीमा क्षति गरेको हो । बाढीले खेतको धान ढलाउनुका साथै पुरि दिएको कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका कृषक चुल्हुराम चौधरीले बताए । ‘पाक्नै लागेको धानलाई बाढीले ढलाउनुका साथै, पुरि दिएको छ’, उनले भने,‘यो वर्ष पनि अब धान रहेन ।’ 

गतवर्ष कात्तिकमा आएको बेमौसमी वर्षा र बाढीका कारण कैलालीका किसानले धान बालीमा ठूलो नोक्सान ब्यहोरेका थिए । गत वर्ष भित्र्याउन तयारी भएको धान सखाप भएपछि धेरैजसो परिवार भोकमरीसंग जुधि रहेका छन् । यो वर्ष पनि किसानहरुको त्यहि दशा भएको भजनी नगरपालिका–५ लालबोझीका कृषक लबरु डङ्गौराले बताए । ‘तीन बिघा जमिनमा लगाएको मेरो धान बाली यो वर्ष पनि रहेन’, सुनाए,‘कान्द्रा नदीको बाढीले धान सोत्तरै पा¥यो ।’

डङ्गौराका अनुसार कतिपय किसानको खेतमा धान पाक्ने सुरसारमा थियो भने, कतिपयको खेतमा भर्खर पसाइ रहेको थियो । तयार भइरहेको र पसाउन लागेको सबै खाले धान बालीलाई बाढीले नोक्सान गरेको उनले बताए ।

‘गत वर्ष एक मुठा पनि धान भित्र्याउन पाइन’, उनले दुखेसो गरे,‘यो वर्ष पनि बाढीले खत्तमै पा¥यो । घरपरिवार कसरी पाल्ने, चिन्ता छ ।’ गतवर्ष धान बाली गुमाएका किसान गहुँ किनबेच गरेर चामल खरिद गरी गुजारा गरिरहेका छन् । तर, चामल पनि अचाक्ली महँगिएको उनीहरुको गुनासो छ ।

कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५, ७ र ८ मा मोहना, कटैनी नदीले धान बालीमा नोक्सान गरेको छ । यस्तै, भजनी नगरपालिकामा कान्द्रा, मोहना, पथरैया, काँढा, जोशीपुरमा काँढा, पथरैया, टीकापुर नगरपालिकाको ७, ८ मा पथरैया, मोहना, कर्णाली नदीको बाढीले कृषिमा नोक्सान गरेको छ ।

भजनीका धेरैजसो किसानको त यो वर्ष पनि खेतमा केही नबचेको वडा नम्बर ५ का वडा अध्यक्ष केशव बुढाले कताए । ‘किसानको धान बालीमा यो वर्ष पनि ठूलो नोक्सान भएको छ’, उनले भने ।  सबैभन्दा बढी डुबान भएको भजनी नगरपालिकामा बाढीले कृषि बालीमा गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको भजनी नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । ‘के कति क्षति भयो, त्यसको विवरण अझै आइपुगेको छैन’, नगरपालिकाका कृषि शाखामा कार्यरत प्राविधिक सहायक कमल चौधरीले भने,‘तर, धान खेती भएको सबै क्षेत्रमा नोक्सान भएको छ । विवरण सङ्कलनको कार्य भइरहेको छ ।’ 
कञ्चनपुरका किसान चिन्तित
कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन ।धानमा बाला लागेर पाक्नै लागेको खेतीमा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन । लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेको थिय । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पु¥याएको हो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । ‘आफ्नै पाँच बिघा जमिनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुबाले सबै पुरिदिएको छ’, उनले भने, ‘धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपात बाढीले भिजाएको छ ।’ बाढीले ६ महिनाको मेहेनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ ।

‘धानको बाला लागि रहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे’, उनले भने, ‘तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन ।’ उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । ‘११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यनाश भएपछि अब के गर्ने ?’, उनले प्रश्न गरे। गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए ।

‘गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो’, उनले भने, ‘घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टागेर बसेका छौँ ।’ लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातिमा ठूलो क्षति पु¥याएको कृषि शाखा प्रमुख हजमिला लावडले बताए । ‘बाढीले धान, उखु, बदाम, सखरखण्डलगायत ठूलो क्षति पु¥याएको छ । हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ’, उनले भने ‘पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।’ वर्ष दिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित हुनुहुन्छ । उनले भने, ‘वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उनले बताए । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो  । ‘विसं २०६४ यता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ’, उनले भने । दोदा, बनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।

‘बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरु त विस्तारै पानी कम हुँदै गए पछि उठ्न सक्ला’, उनले भने, ‘बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने एकिन विवरण आएको छैन ।’  आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनले बताए ।