Close This

अमेरिका र लोकतन्त्र

शुक्रबार असोज ७, २०७९/ Friday 09-23-22
दीर्घराज उपाध्याय

अमेरिकी सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा ईन्टरनेशनल भिजिटर्स लिडरसीप प्रोग्राम(आईभिएलपी) को सिलसिलामा अगष्ट दोस्रो साता अमेरिका भ्रमण गर्ने महत्वपूर्ण अवसर प्राप्त भयो । मोफसलमा बसेर झण्डै अढाई दशक देखि पत्रकारिता गरिरहेको मेरा लागि यो यो अवसर एउटा सुखद क्षण थियो ।

आईभिएलपी अन्तर्गत तीन हप्ता अमेरिकाका चार वटा राज्यमा बिभिन्न बिषयमा बिभिन्न तहमा मिटिङ र छलफलहरु भए । प्रायः सबै कार्यक्रमहरु अन्तरक्रियात्मक थिए ।  जो मेरो वैयक्तिक र पत्रकारिता जीवनका लागि अत्यन्त फलदायी रहे । आईभिएलपीपछि थप १० दिन अमेरिकाका बिभिन्न राज्य व्यक्तिगत तवरले भ्रमण गरे । ती १० दिनको अनुभव र  भोगाई भने बेग्लै थिए ।

हुन् त कुनै देश बुझ्न त्यो देशको समग्र अवस्था बुझ्न एक महिना पर्याप्त समय होईन । यद्दपि यो एक महिनाको अबधिमा, अमेरिका के हो ? अमेरिकाले अंगालेको लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्तो छ ? उसको निर्बाचन प्रणाली कस्तो छ ? किन अमेरिकाको लोकतन्त्र सबैका लागि आकर्षक छ ?

किन संसारभरीका मान्छेहरुका लागि अमेरिका सपनाको देश हो ? किन मर्न तयार हुन्छन, अमेरिका टेक्ने । लाखौ रुपैया खर्चेर जोखिमपूर्ण बाटो भए पनि किन अमेरिका पुग्न मरिहत्ते गर्छन मान्छेहरु ? के अमेरिका सोचे जस्तो छ ? काठमाण्डौंबाट उड्दै गर्दा यस्ता कयौं प्रश्नहरुले मसंगै उडान भरेका थिए । अमेरिका टेकेपछि कतिपय प्रश्नहरुले स्वतः जवाफ पाए । कतिपयले भ्रमणका क्रममा पाए । कतिपय प्रश्नहरु अझै अनुत्तरित छन् ।

अमेरिकामा मिडियाको अवस्था ? कोभिडले गरेको असर ? उनीहरुले पछ्याएको पत्रकारिताको बाटो ? आम सञ्चार विश्व विद्यालयहरुले अपनाएको पत्रकारिताको पढाईका बारेमा सिक्ने र बुझ्ने मौका पाए ? नेपालले अमेरिकाको संघीयताबाट के सिक्न सक्छ ? किन अमेरिकाको संघीयता सफल छ ? नेपालमा किन पाँच वर्षमै संघीयताको औचित्य र आवश्यकतामाथि प्रश्न खडा भयो ? यस्ता तमाम जिज्ञासाहरुको पुन्तुरो फुकाउने मौका मिल्यो ।

एमसीसी प्रतिको भ्रम र वास्तविकता के कस्ता छन् ? युएसएडले नेपालमा कसरी काम गर्छ ? उसको प्राथमिकताका क्षेत्रहरु के कस्ता छन् ? नेपालको बर्तमान अवस्थालाई लिएर विश्व बैंकको हेडक्वार्टरमा पुगेर प्रश्न गर्ने मौका जुर्नु मेरा लागि अविस्मरणीय क्षण थियो । विश्व बैंकको नेपाल प्रतिको धारणालाई लिएर मेरो जिज्ञासा थियो, के नेपाल पनि श्रीलंकाको बाटोमा हो ? किन नेपालको अवस्थालाई लिएर विश्व बैकको चासो देखिदैन ? मेरो अर्को प्रश्न थियो । कि श्रीलंका झै अवस्थामा पुगेपछि विश्व बैंकले चासो देखाउने हो ? संशय सहितको थप प्रश्न सोध्न बिलम्ब गरेन । आफ्ना सदस्य राष्ट्रहरु चर्को व्याज दरमा विकासका परियोजना सञ्चालन गरिरहदा विश्व बैंक किन मौन छ ?

अमेरिकाको प्रमुख शहर न्यूयोर्क, जहाँ संसार अटेको छ । जहाँको बिबिधता अद्भुत छ । विकासको चरमचुलीमा रहेको न्युयोर्कदेखि आयोवा जस्तो कृषिमा आत्मनिर्भर साना राज्यहरुको भ्रमणले अमेरिकाको राज्यहरुका बीचमा विकासमा रहेको बिबिधता पनि बुझ्ने र देख्ने अवसर पाए ।

ओहो ! मध्यराति टाईम्स स्क्वायरको उज्यालोमा रमाईरहेको भीड । कोही नाचिरहेका । कोही फोटो सेसनमा व्यस्त । कोही त्यही भीडलाई हेरेर रमाईरहेका । जो सुकैलाई लाग्छ, के टाईम्स स्क्वायर सुत्दैन ?  

लोकतन्त्रमा नागरिक स्वतन्त्रता सर्वोपरी छ । अधिकारको परिभाषाले भन्छ, तपाईलाई हात हल्लाउने अधिकार छ, तर त्यो हातले कसैको नाक छुने अधिकार छैन । यही अधिकारको परिभाषामा हुर्किएको हो, अमेरिका । जहाँ मान्छले निस्फिक्रि भएर अधिकार उपभोग र प्रयोग गर्छन । तर अरुको अधिकारमाथि हस्तक्षेप गर्दैनन । अरुलाई आफ्ना कारण असर परेको महशुस हुने वित्तिकै सरी भन्न अलिकति पनि उनीहरु संकोच गर्दैनन । आखिर सरीमा त्यस्तो के छ ? कसैलाई लाग्न सक्छ । हो, यसैमा क्षमा छ । यसैमा आफ्नो कमजोरी वा आफूबाट भूलवश भएको गल्तीको स्वीकारोक्ति छ ।

कसले के खायो ? कसले के लगायो ? को निर्वस्त्र छ ? कसले जिउ पुरै ढाक्ने गरी लुगा लगाएको छ ? कसलाई वास्ता ? कसलाई चासो ? सबैले आआफ्नो तरिकाले जीवन बाँचेका छन् । अरुका निजी कुरामा न कसैले दख्खल दिन्छ । न त कसैले प्रश्न गर्छ ? यही हो, अमेरिकाको वैयक्तिक स्वतन्त्रताको सुन्दरता ।

सडकमा जाम छ । कसैले हर्न बजाउदैनन । ट्राफिक लाईट कसैले छल्दैन । रातो बत्ति बलिरहेसम्म गाडी कसैले कुदाउदैनन । बिधि र कानून प्रति नागरिकको सम्मान र तिनको पालना अमेरिकाबाट नेपालजस्तो विकासोन्मुख देशका नागरिकले सिक्नै पर्ने पाठ रहेछ, जस्तो लाग्यो ।

जहाँ मान्छेहरु आफ्नो पालो नआउञ्जेल धैर्यतापूर्वक कुर्छन, त्यो अस्पताल होस वा रेल । सडक होस वा मल । मान्छेहरु अनुशासित भएर पंक्तिबद्ध हुन्छन । कसलाई कति हतार छ ? थाह हुदैन । पालो त सबैले पर्खिनै पर्छ । चाहे त्यो उच्च पदस्थ कर्मचारी होस वा नेता । वा आम जनता । बिधि र कानुन सबैका लागि बराबर छ ।

समय सबैका लागि बराबर छ । हामी कहाँ जस्तो प्रमुख अतिथि सबैभन्दा ढिलो आउने र भाषण गरेर पहिले जाने हुदैन । र, निर्धारित समय भन्दा ढिलो आउने मान्छेलाई कोही पर्खिदैनन । हो, अमेरिकामा समय कसैलाई पर्खिदैन । कसैलाई चिया गफ गरेर समय बिताउने फुर्सद छैन । सेकेण्ड र घण्टामा चलेको छ, जीवन । हरेक सेकेण्डको महत्व छ । र त, मान्छेहरु निर्धारित समय भन्दा पहिले नै कार्यक्रममा पुगिसक्छन ।

हरेक कार्यक्रमको तालिका छ । वक्ताहरुको बोल्ने समय र शिर्षक पहिले नै तय हुन्छ । हामी कहाँ जस्तो जे पनि बोल्दिने, जति लामो समय पनि बोल्ने हुदैन । अमेरिकाबाट सिक्नु पर्ने यो पनि एउटा महत्वपूर्ण कुरा हो ।

न्यूयोर्क भित्र पाकिस्तान पनि छ । अफगानिस्तान पनि । नेपाल पनि छ । नाईजेरिया पनि । चीन पनि छ । दक्षिण कोरियापनि । यस्तो लाग्छ, न्यूयोर्क भित्र संसार छ । झण्डै दुई सयभन्दा बढि भाषा र संसारका सबै धर्महरु आफ्नै मौलिकतामा बाँचेका छन् ।
त्यही मौलिकतामा बाँचेको छ, नेपाली पन । यहाँ रहेका नेपालीहरुलाई आफ्नो भाषा र धर्मको चिन्ता जति छ, त्यति नै चिन्ता उनीहरुलाई देशको छ ।

गौरा र डेउडा मात्र हुर्किएको छैन, यहाँ उधुलौ, यामेरि पुन्हि, बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन पनि मनाउन कोही बिर्सिदैनन । अझ अतिथिदेवो भव : को त्यो सनातन सभ्यतामा हुर्किएका नेपालीहरुमा नेपालबाट आउनेहरुलाई गर्ने स्वागत, सत्कार र न्यानो आतिथ्यता त गजवको छ । यही हो, नेपालीपन ।

नेपाल जस्ता विकासोन्मुख देशहरु आफ्नै चिन्तामा छन् । तर अमेरिका संसारको चिन्ता गर्छ । कतिपयलाई यो अस्वाभाविक लाग्छ । कतिपयलाई यो स्वाभाविक । फरक मत वा अल्पमतको सम्मान गर्ने अमेरिकाको संस्कृति लोभलाग्दो छ ।

यस्तो लाग्छ, अमेरिकामा अव गर्नु पर्ने विकास केही छैन । बस्, नागरिक सुरक्षा उसको एउटै चिन्ता हो । संसारभरी फैलिदो आतंकवाद र बिभिन्न नाममा हुर्किदै गएको अतिवाद उसको मुख्य चिन्ता हो । यद्धपि अमेरिकाभित्रै सम्हाल्न गाह्रो हुदै गएको अन्ध राष्ट्रवादले कहाँ पु¥याउने हो ? अमेरिकीहरुको चिन्ताको विषय बनेको छ ।

मार्टिन लुथर किङ र अब्राहम लिंकनले नेतृत्व गरेको अमेरिका सबैलाई एसेप्ट एण्ड रेस्पेक्ट (सम्मान र स्वीकार) गर्ने त्यो उदारता बोकेर बाँचेको छ । र त, अमेरिका अमेरिका भएको हो ।

अमेरिका, जहाँ श्रमको सम्मान छ । जहाँ मान्छे कामले सानो र ठूलो हुदैन । स्वीपर होस वा प्रोफेसर सबैको हैसियत समान छ । जहाँ मान्छे काम गर्न संकोच मान्दैन । र त, मान्छेहरु आफ्नो पेशा र कर्म निसंकोच भन्छन । नेपाल र नेपालीहरुका लागि त यो अनुकरणीय छ ।

लिंग, बर्ण र बर्ग बिभेद अमेरिकामा बर्जित छ । र, दण्डनीय पनि । यद्दपि गोरा र कालाबीचको बिभेद । र, त्यसका बाछिटाहरु बेला बेला सतहमा नदेखिने होईन । कालाहरुको राज्यप्रतिको रोष । रोजगारी र अवसरहरुलाई लिएर गोराहरुले आप्रवासीमाथि गर्ने टिप्पणी र व्यवहार । अमेरिकालाई कतै अतिवाद तर्फ धकेल्ने खोज्न थालिएको त होईन ? स्वय अमेरिकीहरुको चिन्ताको विषय बनेको छ ।

लोकतन्त्रमा आवधिक निर्बाचन मार्फत जनताद्धारा सरकार चुनिन्छ । र, प्रतिपक्षीले पनि निर्बाचनको परिणामलाई सहर्ष स्वीकार गर्छ । उसले अर्को निर्बाचन नआउञ्जेल प्रतिपक्षको रचनात्मक भूमिका निर्बाह गर्छ ।

गलत सूचना वा मिथ्या जानकारीले समाज र राष्ट्रलाई दिग्भ्रमित गरिरहेको विषयलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको देखिन्छ । र त, समाज, राष्ट्र र विश्वलाई गलत सूचनाले दुर्घटना तर्फ धकेलिरहेकोमा उसको चासो चिन्ता छ । त्यतिमात्र होईन, त्यसलाई कसरी रोक्न वा न्यूनिकरण गर्न सकिन्छ भन्ने उसका योजनाहरु देखिए । पाईए । आईभिएलपीको थीम नै गलत सूचनाको पहिचान तथा व्यवस्थापन सम्बन्धि दृष्टिकोण निर्माण गर्नु त्यही सोचको उपज हो ।

तर बेलाबेला अमेरिका जस्तो संसारकै शक्तिशाली र बिकसित मुलुक पनि मिथ्या तथा भ्रामक सूचनाको शिकार भईरहेको छ । मिसईन्फरमेशन र डिसईन्फरमेशनले अमेरिकाको निर्बाचन र आम जनतालाई पारिरहेको प्रभावलाई अमेरिकी सरकार र मिडियाकर्मीहरु चासो र चिन्ता व्यक्त गर्छन ।  मिडिया र मिडियाकर्मीहरु जानी नजानी प्रभावित भएका छन् ।

अमेरिकामा आमसञ्चार पढाउने विश्वविद्यालयको स्कुलिङमै कही कतै कमजोरी भयो कि ? होईन भने, किन अमेरिकामा मीस ईन्फरेमशन यतिधेरै हावी भयो ? प्रत्युत्तरमा डे«क युनिभर्सिटी अन्तर्गतको स्कुल अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनका प्रोफेसर टीम पिल्चरले बिना हिच्किचाहट भने, हो, हामी असफल भयौ । तर यसको अर्थ हामीलाई भाग्ने वा निराश हुने छुट भने छैन । यसलाई हामीले चुनौतीका रुपमा स्वीकार गरेर अघि बढ्नुको बिकल्प पनि त छैन ।

स्टुडेण्ट प्रोफेसनल एण्ड एकेडेमिक सपोर्ट स्पेसलिष्ट पिल्चरकै भनाईमा अव पत्रकारितामा मिस ईन्फरमेसन र डिस ईन्फरमेसनको नयाँ बहस शुरु भईसकेको छ । यसबाट भाग्ने छुट पनि छैन । किनकी सूचना शक्तिको स्रोत मात्र होईन । यो आफैमा ठूलो शक्ति पनि हो । यसको गलत व्याख्या वा यसलाई गलत तरिकाले सम्प्रेषण गर्दा त्यसले निम्त्याउने परिणामबाट कुनै एउटा समाज र राष्ट्र मात्र प्रभावित हुदैन । समग्र विश्व नै यसको परिणामबाट प्रभावित हुनेछ । प्रताडित हुनेछ ।