Close This

लालमोहन र रसबरीको बट्टामा लुकाएर लागुऔषध कारोबार

६ जना पक्राउ

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

काठमाडौं, ९ असोज । लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध बुप्रेनोर्फिन, डाईजेपाम, फेनारगन र खैरो हेरोइन कारोबार गर्ने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएर ललितपुरको बागडोल बस्ने अर्जुन ढकाल, बाराका अजय महतो, सिन्धुपाल्चोक घर भएका राम बहादुर तिमिल्सिना छन् ।

खैरो हेरोइनसहित इलाम घर भएका २४ वर्षीय सुजन हेल्मु र २९ वर्षीय सञ्जीव राईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए । सुजन र सञ्जिवको साथबाट प्रहरीले ५० दशमलव ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

भदौ २४ मा ललितपुरको थसिखेलबाट प्रहरीले बा।५ च ७१३८ नम्बरको बोलेरोमा लुकाएर राखेको बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरेको थियो । अर्जुन ढकालले काठमाडौं बाहिरबाट ल्याएको सो लागुऔषध बागडोलस्थित कोठामा भण्डारण गर्ने तयारी गरेका थिए । बागडोलमा ढकालले लागुऔषध भण्डारण गर्नका लागी नै डेरा लिएको अनुसन्धानबाट थाहा भएको एसपी खड्काले जानकारी दिए ।

ढकालले लालमोहन र रसबरीको बट्टामा प्याक गरेर लागुऔषध काठमाडौं बाहिरबाट ल्याउने गरेको ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । ढकालको बागडोलमा रहेको अर्को डेराबाट प्रहरीले २ हजार ८४० एम्पुल बुप्रेनोर्फिन, २ हजार ८४० एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनारगन बरामद गरेको छ । उनको डेराबाट एम्पुल लुकाउन प्रयोग गरिने ५ वटा लालमोहन र रसबरीका बट्टा बरामद गरिएको एसपी खड्काले बताए ।

लागुऔषध एम्पुलसहित पक्राउ परेका अजय महतो र रामबहादुर तिमिल्सिना चाहिँ प्रदेश–२–०३–००१ ख ३६२८ नम्बरको बसका चालक र सहचालक हुन् । चालक तिमिल्सिना र सहचालक महतो मिलेर पटक–पटक सो बसमा लुकाएर लागुऔषध ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको एसपी खड्काले जानकारी दिए ।