Close This

दार्चुलाको महाकाली र नौगाड विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

सोमबार असोज १०, २०७९/ Monday 09-26-22
Paschim Today

दार्चुला,१० असोज । नेपाल सरकारले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकासहितको क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रीपरिषद्को गत ७ गतेको बैठकले महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई समेटेर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताइएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिइन् ।

गत भदौ २४ गते शुक्रबार रातीको भारी वर्षा, भीषण बाढी र पहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ६ जनाले ज्यान गुमाएका थिए । दश जना बेपत्ता भएका थिए । घटनामा पाँच जना गम्भीर घाइते भएका थिए ।

दुवै पालिकामा गरी घर पूर्ण रुपमा क्षति भएपछि ४२ परिवार विस्थापित भएका छन् । दुई वटा विद्यालय भवन भत्किएका थिए भने ठुला साना गरी एक दर्जन बढी सवारी साधन बगेका थिए ।दार्चुलामा यसअघि २०७० साल असार २ गते महाकाली नदीमा आएको विनाशकारी बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भएको थियो । महाकाली नदीको बाढीले सदरमुकाम रहेको महाकाली नगरपालिका–५ बागाबगडको स्वरूप नै परिवर्तन गरिदिएको थियो ।

त्यस वेलाको बाढीले १३ वटा सरकारी कार्यालय भवन, एक सय पाँच पक्की घर, १७ वटा टहरा, चार वटा मन्दिर ध्वस्त भएका थिए । दुई वटा जलविद्युत स्टेशन र झोलुङ्गे पुल बगेका थिए । खलङ्गा–तिङ्कर सडक विभिन्न स्थानमा भत्किएको थियो । बाढीबाट दुई हजार पाँच सय बढी विस्थापित भएका थिए । एक जना बेपत्ता भएका थिए ।

२०७० सालको विनाशकारी बाढीले महाकाली नगरपालिका–२ र ५ मा अत्यधिक क्षति पुर्‍याएपछि सरकारले महाकाली नदीमा झण्डै बृहत् पक्की तटबन्ध निर्माण गर्नुका साथै क्षति भएको भौतिक संरचनाको पुन निर्माण गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी साउँदले यस पटक भारी वर्षा तथा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको प्रारम्भिक विवरण गृह मन्त्रालयमा पठाइसकेको जानकारी दिइन् ।