Close This

पुलिस हुँ भन्दै ठगी गर्ने दुई युवा पक्राउ

शनिबार असोज १५, २०७९/ Saturday 10-01-22
Paschim Today

उदयपुर, १५ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले चौदण्डीगढी नगरपालिका– ८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरू सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी-८ मोडलको स्मार्ट मोबाइल  समेत लगेका थिए ।

नगद तथा चेक मोबाइल लिएर उनीहरु स ३ प ९१५५ नम्बरको मोटरसाइकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनी जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरूलाई मुक्तिनाथ विकास बैंकको चेक र मोबाइल तथा स ३ प ९१५५ नम्बरको मोटरसाइकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । उनीहरूलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।