Close This

फुटबल भागदौडमा इन्डोनेसियामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

सोमबार असोज १७, २०७९/ Monday 10-03-22
एजेन्सी

एजेन्सी, इन्डोनेसियामा एक फुटबल खेलपछि भएको भागदौडमा कम्तीमा १ सय ७४ को मृत्यु भएको र १ सय ८० घाइते भएको त्यहाँको प्रहरीले आइतबार जनाएको छ । यसलाई विश्व फुटबल इतिहासकै सबैभन्दा खराब र ठूलो दुर्घटना मानिएको छ । शनिबार राति इस्ट जाभामा आरेमा एफसी र पेरसेबाया सुरबयाबीचको खेलमा यो दुर्घटना भएको हो ।

घरेलु टोली आरेमा आफ्नो परम प्रतिद्वन्द्वी टोलीसँग पराजित भएपछि रंगशाला भित्र भरिभराउ घरेलु समर्थक आक्रोशित हुन पुगेका थिए । पराजित टिमका समर्थक आक्रोशित हुँदै मैदानमा प्रवेश गरेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो । यसै क्रममा फुटबल समर्थकबीच भागदौड भएको थियो । इस्ट जाभाका प्रहरी प्रमुख निको एभिनटाले भागदौडका क्रममा एक अर्कोमाथि थिच्चिएर र निसासिएर मृत्यु भएको पत्रकारलाई बताएका छन् ।

उनले भनेका छन्, ‘समर्थकले प्रहरीमाथि आक्रमण सुरु गर्दै गाडीमा तोडफोड गरेका थिए । यसैक्रममा दर्शकको रंगशालाबाट बाहिरिने ढोकामा भागदौड भएको थियो ।’ स्थानीय मिडियाले प्रसारित गरेको भिडियो फुटेजमा समर्थकहरू मालांगास्थित फुटबल रंशगालामा मैदानमा प्रवेश गरेको देखाइएको छ । यस्तै अन्य दृश्यमा लासको चाङ रहेको छ ।

अस्पतालका एक निर्देशकले स्थानीय टेलिभिजनलाई बताएअनुसार मृत्यु हुनेमा एक पाँच वर्षीय बालक पनि रहेका छन् । इन्डोनेसियामा फुटबलसँग सम्बन्धित हिंसात्मक हुलदंगा हुने गरेका छन् । स्थानीय परस्पर विरोधी फुटबल क्लबका समर्थकबीच तीव्र प्रतिद्वन्द्वीताबीच बारम्बार झगडा हुने गरेको छ । घटनाको छानबिनको स्थानीय सरकारले आदेश दिइसकेको छ ।

प्रहरी प्रमुख निकोका अनुसार मृत्यु हुनेमध्ये ३४ को रंगशालामै निधन भएको र बाँकीले अस्पताल पुगेपछि ज्यान गुमाएको बताएका छन् । इन्डोनेसियाली प्रमुख सुरक्षामन्त्री महफुद मोहम्मदका अनुसार रंगशालामा क्षमताभन्दा बढी दर्शक थिए । उनले दर्शक क्षमता ३८ हजार मात्र भए तापनि ४२ हजार टिकट बिक्री गरिएको बताएका छन् ।