डडेल्धुरामा जित्नेलाई पञ्छाएर हार्नेलाई उम्मेदवार बनाउँदै काँग्रेस

मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
Paschim Today

डडेल्धुरा, १७ असोज । प्रधानमन्त्री शेर बहादुर देउवापछि डडेल्धुरामा नेपाली काँग्रेसका सबैभन्दा बलिया उम्मेदवार हुन्, भीम बहादुर साउँद । जो, नेपाली काँग्रेस डडेल्धुराका सभापति समेत हुन् । तर साउँदलाई पञ्छाएर काँग्रेस नेतृत्वले उनको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका नेता खगराज भट्टलाई प्रदेश सभा सदस्यमा सहयोग गर्दै छ ।

काँग्रेसले गोविन्द बोहरालाई टिकट दिने सम्भावना छ । बोहरा काँग्रेसका सबैभन्दा कमजोर उम्मेदवार हुन् । उनलाई टिकट दिन लागिएको निर्वाचन क्षेत्रमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशी उनीभन्दा बलिया उम्मेदवार मानिन्छन् । जो आम जनतामाझ लोकप्रिय पनि छन् ।

उनी बौद्धिक नेताका रुपमा चिनिन्छन् । यसअघिको प्रदेश सभाको निर्वाचनमा उनी कर्ण मल्लसँग झिनो मतले पराजीत भएका थिए । गठबन्धनका तर्फबाट जोशीलाई टिकट दिए उनको जित्ने सम्भावना प्रबल छ । अर्को निर्वाचन क्षेत्रमा काँग्रेसका तर्फबाट भीम बहादुर साउँदलाई टिकट दिए उनी पनि जित्ने निश्चित रहेको नेपाली काँग्रेसकै नेताहरू बत्ताउँछन् ।

माओवादी केन्द्रका नेता भट्टलाई उम्मेदवार बनाउन लागिएको क्षेत्र भट्टको निर्वाचन क्षेत्र होइन । त्यहाँ नेकपा एमालेका उम्मेदवार पठान सिंह बोहरालाई हराउन सक्ने काँग्रेसका एक मात्र उम्मेदवार भीम बहादुर साउँद हुन् । सो निर्वाचन क्षेत्रमा काँग्रेसपछि माओवादीको प्रभाव पक्कै छ । तर बोहरा र भट्टबिच प्रतिस्पर्धा हुँदा जातीय र भेगीय भावना हाबी हुने सम्भावना उत्तिकै छ । त्यसको सोझो असर भट्टमाथि पर्नेछ ।

डडेल्धुराबाट प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री देउवालाई हराउन सक्ने न कोही उम्मेदवार छ । न कसैले हराउन सक्ने अवस्था छ, नेपाली काँग्रेस डडेल्धुराका एक नेताले भने, देउवा विरुद्ध जस्तो सुकै गठबन्धन भए पनि उनलाई हराउन सक्ने तागत कसैमा छैन । तर काँग्रेसका नेता साउँद र समाजवादीका नेता डा. जोशीलाई पाखा लगाएर गरिने गठबन्धन भने घातक हुने र त्यसले प्रदेश सभाका दुवै सिट गठबन्धनले गुमाउने निश्चित छ । किनकि डा. जोशी, नेकपा एमाले र नेपाली काँग्रेस (बिपी) का साझा उम्मेदवारका रुपमा प्रदेश सभामा लड्ने सम्भावना प्रबल छ ।

यस विषयमा हिजो धनगढीमा नेकपा एमालेका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र जोशी पक्षधहरुबीचमा छलफल समेत भएको छ । गठबन्धनबाट टिकट नपाए जोशीले समाजवादी पार्टी छोड्ने छन् । र स्वतन्त्र उम्मेदवारी दिने छन् । उनको स्वतन्त्र उम्मेदवारीलाई नेपाली काँग्रेस (बिपी) नेता कर्ण मल्ल र नेकपा एमालेले समर्थन गर्ने भएको छ ।

एमाले र नेपाली काँग्रेस (बिपी) ले उक्त निर्वाचन क्षेत्रमा जोशीलाई साझा उम्मेदवारका रुपमा अघि सार्ने निश्चित भएको छ । यसो हुँदा जोशीको जीत सुनिश्चित छ । र जोशीका अगाडि नेपाली काँग्रेसका उम्मेदवार बोहरा अत्यन्त कमजोर छन् । सुदूर पश्चिम प्रदेश सरकारमा सामाजिक विकास मन्त्री बोहराको मन्त्रीका रुपमा पनि पफर्मेन्स अत्यन्त कमजोर र निरीह छ । बोहरासँग कार्यकर्ताहरू पनि रुष्ट छन् ।

तर बोहरा हार्ने थाह हुँदा हुँदै काँग्रेस नेतृत्व भने उनैलाई टिकट दिने तयारीमा छ । यस्तो अवस्थामा गठबन्धनले प्रदेश सभाका दुवै सिट गुमाउने छ । प्रतिनिधि सभाको निर्वाचनमा पनि त्यसले देउवालाई असर गर्नेछ । तर देउवालाई जित्न भने कठिन हुने देखिँदैन ।