Close This

प्रेम, सद्भाव र सपना

मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
दीर्घराज उपाध्याय

राजनीतिज्ञ शशि थरुरले हावर्ड युनिभर्सिटीका विद्यार्थीहरूलाई विश्वव्यापीकरण बुझाउन धेरै लामो व्याख्या गरेनन् । उनले कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाको उदाहरण सटिक ढङ्गले सुनाए ।

थरुर भन्छन्, डायना बेलायती राजकुमारी थिइन । बेलायत र स्वीजरल्याण्डमा पढेकी उनका प्रेमी ईजिप्सियन थिए । उनी फ्रान्सको टनेलमा दुर्घटनामा पर्दा जर्मनी कारमा थिइन । जसको ईञ्जिन डच कम्पनीको थियो । उनका चालक बेल्जियन थिए, जसले पिएका थिए, स्कचिस ह्विस्की । डायनालाई पछ्याउने पापाराजीहरु इटालियन थिए । जसले डायना पछ्याउदा प्रयोग गरेका थिए, जापनिज मोटरसाइकल । दुर्घटनापछि डायनाको उपचार गर्ने डाक्टरहरू अमेरिकन थिए । उनीहरुले उपचारका क्रममा प्रयोग गरेको औषधी ब्राजिलियन थियो । यही हो, विश्वव्यापीकरण ।

विश्व एउटा घर जस्तो भइसकेको छ । र, एउटा देशको अर्को देशसँगको सम्बन्ध नङ र मासु जस्तो । जसको आफ्नो उत्पादन छैन । सियोदेखि सुनसम्म, इन्धनदेखि नुनसम्म परनिर्भरतामा बाँचेको नेपाल यो विश्वव्यापीकरणको प्रभाव वा यो बाट अछुतो रहने कुरै भएन । हाम्रो आर्थिक अवस्था मजबुत भए हामी आत्मनिर्भर त हुनेछौ । आत्मनिर्भर नै भयो भने पनि जीवन पद्धति बनिसकेको विश्वव्यापीकरणबाट हामी मुक्त वा अलग हुन भने सक्ने छैनौ । हाम्रो गरिबी विश्वका अति विकसित मुलुकका लागि चिन्ता र चासोको विषय हो । विश्वको उपलब्धि हामी सबैको साझा उपलब्धि । 

मान्छे कविलाको युगबाट अहिलेको अवस्थामा आई पुग्न दुई हजार दुई सय वर्ष लाग्यो । कविलाको त्यो युगबाट विश्वव्यापीकरणको यो अवस्था सम्म आई पुगेको यो समय, समाज र युगलाई कतिपय मान्छेहरू त्यही अवस्थामा फर्काउन उद्धत छन् । यस्तो लाग्छ, उनीहरूलाई समाजको विविधता, त्यो  विविधतामा हुर्किएको सद्भाव र विकास प्रति वितृष्णा छ । र त, बेलाबेला उ जातका कुरा गर्छ । धर्मका कुरा गर्छ । भेगका नाममा राजनीति गर्छ । विकासका मुद्दा नै ओझेलमा पारेर उ सबै थोक जातलाई ठान्छ । जब चुनाव आउँछ, तब यी कुराहरू उचाल्छ । 

नेता मात्र होइन, विद्यार्थीलाई पढाउने शिक्षक, संसार बुझेको विकासे कार्यकर्ता, अधिकारका कुरा गरेर नथाक्ने अधिकारकर्मी, विश्वव्यापीकरण बुझेको गैससकर्मीहरु जसलाई अमेरिकी विकास मोडेल र त्यहाँको लोकतन्त्र मन पर्छ, जो त्यहाँको भिसाका लागि मरिहत्ते गर्छ, तिनै व्यक्तिहरूअमेरिकाको विकास र लोकतन्त्रका सुन्दर पक्षहरूलाई आत्मसात गर्न भने जरुरी ठान्दैनन् । यो पनि जरुरी छैन कि उसका हरेक कुरा अक्षरशः आत्मसात गर्नुपर्छ । राम्रा कुरा त जसका पनि अनुसरण गर्दा हानी हुने होइन ।

विश्वका ऊर्जाशील र सक्षम जनशक्तिलाई सबै अवसर र सेवा सुविधा दिएर अमेरिकाले आकर्षण गरिरहेको छ । यता हामी भने आफ्नो देशमा ‘गर्खा मोडेल’ लागु गर्न उद्दत छौ । बस्, आफ्नै गर्खाको उम्मेदवार चाहियो । हामीलाई सके आफ्नो गर्खाको, त्यो नभए भेगको त्यो पनि नभए जिल्लाको उम्मेदवार चाहिन्छ ।

विकास कसैलाई चाहिएकै छैन । बस, इगो साध्नुछ । कसैलाई हराउनु छ । कसैलाई जिताउनु तिनको उद्देश्य नै होइन । यो पनि थाह छ कि तिनले बोकेका नेता चुनाव जित्दैनन् । र ती नेतालाई त प्रयोग गर्नु छ, कसैलाई हराउन । परीक्षण भइसकेका नेताहरूलाई बोकेर विकास हुँदैन । हिजो तिनले के गरे ? भोलि के गर्न सक्छन् ? ती सँग आफ्नो क्षेत्र र जिल्लाको विकास गर्ने के कस्ता खाका छन् ? ती आशा बाड्छन कि निराशा ? घृणा बाँड्छन्, कि प्रेम ? सद्भाव बाड्छन कि जातीयता र भेगियता ? जब मान्छेसँग सबै मुद्दाहरू सकिन्छन् । तब उ जातीयताको राजनीति गर्छ । भेग र भूगोलका कुरा गर्दै मान्छेलाई भड्काउँछ । 

साउथ सुडानको बसाइँका क्रममा देखेको नमिठो अनुभव छ, जातीय द्धन्दका बाछिटाहरू युगौँसम्म रहन्छन् । र, त्यसले कसैको हित गर्दैन । सन १९९४ मा हुतु र तुत्सीबीच भएको एक अर्कालाई सिध्याउने प्रतिशोधका साथ रुवाण्डामा भएको जातीय नरसंहारमा झण्डै १० लाख मान्छे मारिए । तर अहिले तीनै दुई जाती मिलेर रुवाण्डाको लोभलाग्दो विकास गरिरहेका छन् । 

बिद्रोहबाट सत्ता कब्जा गरेका अल्पसंख्यक तुत्सी समुदायका पाउल कागामे रुवाण्डामा अढाई दशकदेखि सत्तामा छन् । जहाँ हुतुको जनसंख्या ८५ प्रतिशत छ । र तुत्सीको जनसंख्या १४ प्रतिशत छ । उनलाई लगातार सत्तामा पु¥याउने तिनै हुतुहरु हुन् । यता हामी भने हाम्रो जाती र समुदायको संख्या गनेर बसेका छौ । र, तिनैको भोटमा राजनीति गरिरहेका छौ । यस्तो लाग्छ, अल्पसंख्यक वा जनसंख्या थोरै समुदायमा जन्मिएको क्षमता, भिजन र असल नियत भएको व्यक्ति कहिल्यै यहाँ चुनाव जित्ने दिन अव फर्केर कहिल्यै आउने छैन । जात होईन, उसको नियत हेरौ । उसको निष्ठा हेरौ । 

सुडनीज पिपुल लिवरेशन आर्मी(एपसपीएलए) गठन गरी साउथ सुडानको स्वतन्त्रताका लागि लडेका डिंका र नियोर जाती पटक पटक भएको हिंसात्मक जातीय झडपपछि यति बेला  विकासका लागि हातेमालो गरिरहेका छन् । आफ्नो भूगोल र देशका लागि रुवाण्डामा हुतु र तुत्सी मिल्न सक्छन् । साउथ सुडानमा डिंका र नियोरसंगै हिँड्न सक्छन् । हामी किन मिल्न सक्दैनौ ? 

माओवादी द्धन्दका घाउहरूलाई सधैभरी कोट्याइरहने कि ? त्यसमा मलहम लगाउने ? त्यसलाई पुर्ने कि बल्झाउने ? एक थरी मान्छेहरू यसैमा राजनीति गरिरहेका छन् । हो, द्धन्दमा मारिएका, बेपत्ता, अपाङ्ग तथा अङ्गभङ्ग भएकाहरूका परिवारका पीडा कम भएका छैनन् । उनीहरूका परिवारजनका आँखा अझै ओभाएका छैनन् । बेपत्ता प्रियजन आउने आश अझै बाँकी छ । मान्छे ज्युँदो रहेसम्म आश पनि ज्युँदो हुन्छ । उनीहरूले न्याय र क्षतिपूर्ति पाउनु पर्छ। भोलि त्यस्तो पीडा कसैले नभोगोस्, राज्य यसतर्फ सचेत हुनैपर्छ । तर सधैभरी यसैमा अल्झिरहन हुँदैन ।

उ यो भूगोलको हो कि होइन त्यो त्यति महत्त्व राख्दैन । त्यो नहेरौँ । उसको त्यो भूगोलप्रतिको निष्ठा हेरौँ । आफूले मन पराएको व्यक्ति भए उसको भूगोल हेर्न नपर्ने ? तर आफूलाई मन नपर्ने व्यक्ति भए, उ यही भूगोलसँग जोडिएको भए पनि, उसमा खोट देख्ने प्रवृत्ति गजब छ । उम्मेदवार लोकल (स्थानीय) हुनु प¥यो भन्ने हामीले लगाउने, खाने कुनै चिज लोकल छैन । सबै आयातित छ । र, हाम्रा परिवारसँग जोडिएका कोही पनि मान्छे लोकल छैनन् । अनि हामी नै लोकलका कुरा गर्छौ । । देख्नेले त चन्द्रमामा पनि खोट देख्छन् । हामीले चन्द्रमाको उज्यालो हेर्ने कि त्यसमा भएको दाग ? 

छिमेकी देश भारतमा गुजरातका नरेन्द्र मोदी बनारसबाट लड्छन् । स्मृति इरानी अमेठीबाट जित्छिन् । विकास र लोकतन्त्र हामीलाई त्यहाँको मन पर्ने । अनि राम्रा कुरा त्यहाँको मन नपर्ने ? यस्तो पनि हुन्छ ?

विकासका लागि ईख चाहिन्छ । इगो त घातक चिज हो । संसारकै गरिब मुलुक ईथोपिया ईखले अफ्रिकाका लागि मात्र नभएर संसारकै लागि मोडेल बन्दैछ । विगतमा सुनेको ईथोपियाको त्यो गरिबी र टेक्दाको ईथोपियाको ईष्र्यालाग्दो विकासका बिचमा कहीकतै समानता भेटिँदैन । ओहो ! राजधानी अदिस अबाबाको विकास । अनि ईथोपियन एयरलाइन्सको फैलावट कस्तो लोभलाग्दो ? हामी भने नेपालीध्वजाबाहक जहाजलाई थाईएयरको इतिहाससँग दाँजेर मुख अमिलो बनाउँछौ ।

पाँच वर्ष त हाम्रा खेर गइसके । अझै कति वर्ष यसै गरी इगो र प्रतिशोधमा खेर फाल्ने हो ? कति घृणा पालेर बस्ने हो ? देश बनाउन चुनावबाट जितेर आउँछु भन्ने डा. स्वर्णिम वाग्ले, डा. अङ्गराज तिमिल्सेना र कुलमान घिसिङहरुलाई हामीले पर धेकेल्यौ । उनीहरुलाई भन्यौ, होइन, यहाँ होइन, अन्यत्रबाट लड । यो त हाम्रो पो भूगोल भनेर उनीलाई रोक्यौ । राम्रा जति रोकेर हामी पुराना नेतालाई बोकिरहेका छौ । यो पनि थाह छ, उनीहरुबाट केही हुने वाला छैन । यो कुनै एउटा क्षेत्रको समस्या होईन, आज हरेक क्षेत्रको अवस्था यस्तै छ । सबैलाई पद र अवसर चाहिएको छ । र, सधैभरीलाई चाहिएको छ । 

जात, धर्म, भूगोल र वर्णका नाममा होइन, देशका लागि राजनीति गर्ने उम्मेदवारको खाँचो हो, यति बेला । विकासका लागि काम गर्ने उम्मेदवार चाहिएको हो । देश फर्किन खुट्टा उचालेर प्रवासमा बसेका लाखौँ नेपालीहरूमा आशा जगाउने उम्मेदवार चाहिएको हो, यति बेला । जसले सम्भावनाका कुरा मात्र नगरोस्, ती सम्भावनाहरूलाई साकार पारोस् । र, त्यो सामर्थ्य राखोस् । हामीलाई आशा, प्रेम, र सद्भाव चाहिएको हो । र, ती सबै चिज सहितको दिगो विकास चाहिएको हो । त्यसका लागि भिजन भएको नेता चाहिएको हो । जोसँग स्वर्णिम सपना हुन । र, ती सपना पुरा गर्ने सामर्थ्य र आत्मविश्वास होस ।