Close This

सिरहामा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ, चुरोट किन्दा फन्दामा परे

मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
Paschim Today

जनकपुर, १८ असोज । सिरहाको नरहा गाउँपालिका-५ बाट नक्कली नेपाली रूपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी जिल्लामा पर्ने भासर मछहा ग्राम पचायत-८ भन्सार चोकका मो. निजामुदिनको छोरा वर्ष २१ को मो। रेजाउल्लाह छन् । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ एक हजार दरको नक्कली नोट ३१ थान अर्थात् ३१ हजार बरामद भएको जनाएको छ ।

नरहा गाउँपालिका-५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गर्दा १ हजारको नक्कली नोट दिएका थिए । पसल संचालकले नक्कली नोट दिएको भनी ईलाका प्रहरी कार्यालय नरहामा जानकारी गराए । त्यसपछि तत्काल घटनास्थल पुगेर प्रहरीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको थियो ।

असोज १५ गते दिउँसो पक्राउ परेका उनलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको छ । सिरहा प्रहरीका अनुसार रेजाउल्लाहको साथबाट उनको सक्कलै आधारकार्ड चाँदीको सिक्री, औठी र ब्रिसलेट १र१ थान, श्री सिताराम लेखिएको बिल २ पाना, पाईलट चुरोट १ प्याकेट र रेडमी कम्पनीको मोबाईल १ थान समेत फेला परेको छ ।‌

सिरहामा यसअघि पनि पटक पटक नक्कली नोट फेला परेको छ । पत्रकार जयनाथ यादव केहि दिन अगाडी नेपाल बैंक लिमिटेडबाटै निकालेको रकममा समेट नक्कली हजारी फेला परेको थियो । पटक पटक नक्कली नोट फेला पर्दा सिरहामा गिरोह नै सक्रिय बनेको देखिन्छ । तर फितलो छानबिनका कारण गिरोहसम्म प्रहरी पुग्न सकेकै छैन् ।