लघुवित्तमा देखा परेका समस्याहरू 

बिहीबार कार्तिक १७, २०७९/ Thursday 11-03-22
गोविन्द प्रसाद पौडेल

स–साना आयआर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरीब वर्गका व्यक्तिहरू,त्यसमा पनि महिलाहरूलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पुयाउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषाभित्र समेट्न सकिन्छ । लघुवित्त सेवा न्यून आय भएका व्यक्तिहरूलाई वित्तीय तथा गैह वित्तीय सेवाको माध्यमबाट निजहरूमा आयआर्जनका अवसरहरूको सृजना गर्दै गरिबीको दलदलबाट केही माथि उठाउने एक शसक्क्त तथा प्रभावकारी साधन पनि हो ।

नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसङ्ख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँच भन्दा बाहिर रहेको अवस्थामा लघुवित्तकार्यक्रमले सो पहुँचमा बृद्धिगर्न अहंमभुमिका खेल्न सक्ने देखिन्छ । लघुवित्तको सेवालाई सामाजिक व्यवसायको रूपमा पहिचान बनाउन लघुवित्तहरू लागि परेको समेत देखिन्छ । 

नेपालमा नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका अलावा केही सहकारी संस्थाहरूले समेत ग्रामीण पद्धतिको माध्यमबाट लघुवित्त सेवा प्रदान गरिरहेको देखिन्छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरू स–सानो ऋण मात्र लगानी गर्ने र सो ऋण समेत पाक्षिक रूपमा साँवा तथा ब्याज असुलउपर गर्ने गर्दर्थे । विगतमा लघुवित्त सेवाग्राही सरकारी संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताको इजाजतप्राप्त गरी न्यूनतम मुनाफामा सेवा भावपूर्ण रूपले कार्यक्रम सञ्चालन गरेको देखिन्थ्यो । उनीहरूको ठूलो खर्च कर्मचारी तथा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गरी सदस्यहरुकोे उद्यमशीलता विकासमा हुने गर्दथ्यो । संस्थाले पनि मुनाफा वितरण गर्न नपर्ने हुँदा अधिक नाफा कमाउन दबाब नहुने हुँदा कार्यक्रमको सफलताका लागि आवश्यक क्षमता अभिवृद्धिमा खुलेर लगानी गर्ने गर्दथे ।

हाल लघुवित्त वित्तीय संस्थाहरू कम्पनी ऐन अन्तरगत कम्पनीको रूपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी सञ्चालन नहुने र ती संस्थाका शेयर लगानी कर्ताहरूको ध्येय नाफा कमाउने तथा लाभांश अधिक लिने भएको देखिन्छ ।सामाजिक व्यवसायको रूपमा स्थापित हुने लघुवित्त संस्थाहरू नाफामा केन्द्रित हुन गएको देखिन्छ । फलस्वरूप लघुवित्त संस्थाहरूले आफ्ना संस्थामा कार्यरत कर्मचारी तथा सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू कटौती गर्दै जाने तथा गर्नै परेको खण्डमा पनि नेपाल राष्ट्र बैङ्कको निर्देशनारुप विनियोजित कोषबाट मात्र गर्ने गरेको देखिन्छ । तसर्थ लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो मर्म तथा धर्मलाई नजर अन्दाज गर्दै छोटो समयमा अधिक नाफा लिन खोज्ने प्रवृितले गर्दा समस्याहरू देखा पर्ने क्रम बढ्दै गएका छन् ।

लघुवित्त क्षेत्रका सदस्यहरूमा अधिक ऋण भार, सामूहिक दायित्व स्वीकार नगर्ने, किस्ताको साँवा तथा ब्याज भुक्तान गर्न आनकान गर्ने,वाहन बाजी धेरै गर्ने, ऋणको दुरुपयोग गर्ने, नक्कली कागजपत्र तथा विवरणहरू पेश गरी ऋण लिने, कर्मचारीहरू माथि डर धम्कीदिने, विगत कोरोना कालमा पाएको ब्याज छुट तथा पुनःतलिकिकरणको माग गर्ने, धेरै सदस्यहरूको ऋण एक दुई जना सदस्यले मात्र चलाउने लगायत ऋण रकम मिटर ब्याजमा उपयोग गर्नु लगाएका समस्याहरू देखिँदै आएका छन् ।

नेपालमा सञ्चालित लघुवित्त मोडललाई कोरोना कालमा निकै प्रभावित बनाएको र करिब करिब धेरै केन्द्र बैठकहरू सञ्चालन हुन नसकिरहेको तथा निज सदस्यहरूको आयस्रोतमा समेत प्रतिकुल प्रभाव परको अवस्था थियो । सदस्यहरू बिचको भेटघाट, क्षमता अभिवृद्धिका कार्यक्रम, तथा अनुगमन जस्ता कार्यक्रमहरू ठप्प प्रायः रहेको थियो तर कोरोनाको प्रभाव केही शान्त हुन साथ बजारमा सहज भएको तरलताका कारण लघुवित्त वित्तीय संस्थाहरूले सहज किसिमबाट लगानीमा बढवा दिँदै गर्दा विगतमा हुने गरेको ऋण लगानी पूर्व तथा पश्चताका प्रक्रियाहरूको कार्यान्वयनमा केही फितलोपन देखिन गयो । 

फलस्वरूप हाल बाध्यता वश लघुवित्तको मोडल, नीति विधि तथा तिथिहरू पुनःकार्यान्वय गराउन लघुवित्त वित्तीय संस्थाहरूलाई हम्मे हम्मे हुँदै जाँदा बजारमा देखिएको तरलता सङ्कुचनका कारण पुनः आर्थिक क्रियाकलाप घट्दो दरमा रहेको देखिन्छ । जसको नतिजा स्वरुपऋणको गुणस्तर कमजोर हुँदै ठुलो रकम कर्जा जोखिम कोषमा राख्नु पर्ने स्थितिका साथै अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको वासलात खुम्चिनुका साथै नाफामा समेत सङ्कुचन आउन सक्ने अनुमान गर्न सकिन्छ । 

तसर्थ लघुवित्त वित्तीय संस्थाहरूले पुनः सदस्यहरूसँग सदस्य शिक्षा, वित्तीय शिक्षा, व्यावसायिक शिक्षा लगायतका शीर्षकहरूमा प्रभावकारी रूपमा तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरी लघुवित्तको महत्त्व तथा अर्थका बारेमा सदस्यहरू तथा विभिन्न तह र तम्कामा रहेका पदाधिकारी र जनसङ्ख्यालाई बुझाउनु पर्ने टट्कारो आवश्यकता रहेको छ । लघुवित्त संस्थाहरूले पनि कम्तीमा पनि नियामक निकायले निर्धारण गरेको कर्मचारी क्षमता वृद्धिको बजेट खर्च गरी निजहरूको क्षमतामा वृद्धि गरी समस्यहरुका समस्याहरूसँग जुध्न सक्ने योग्य तथा क्षमतावान बनाउनुपर्ने देखिन्छ । लघुवित्तकर्मीहरूले लघुवित्तले समाजमा पारेको राम्रा कुराहरूको प्रचार प्रसार गर्नुका साथै देखा परेका समस्याहरूमा आत्मसाथ गर्दै सदस्यको व्यवहार गरी लघुवित्तको पवित्र उद्देश्य तथा कार्यहरु माथि कसैले पनि प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन। 

(लेखक पौडेल आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. काठमाडौँका प्रबन्धक हुन् ।)