Close This

प्रहरी गर्‍यो चोरी गर्ने १५ जनालाई सार्वजनिक

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

काठमाडौं, ८ मंसिर । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो । 

कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं। ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेहरूमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय कालिकोटका धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन् । त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही रहेका छन् भने रामेछापका २४ वर्षीय सुवर्ण मगर रहेको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।

उनीहरूको साथबाट तौल ३८.५ तोला लेखिएको सुनको गिलास १ थान, सुनको तिलहरी १ थान, सुनको नौगेडी २ थान, हिरा जस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको जनाइएको छ । त्यस्तै गरी, काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरूलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षिय देविराज राई रहेका छन् । त्यस्तै धादिङका ३० वर्षिय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर बि.क. र ३८ वर्षीया मनिला तामाङ रहेका प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउन्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोशाक, फेनारगन, डाइजेपाम र नुफिन गरी जम्मा ५९१ एम्पुल लागू औषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए । उनीहरूलाई पनि चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।