Close This

विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

शुक्रबार मङ्सिर ९, २०७९/ Friday 11-25-22
एजेन्सी

एजेन्सी, फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा वेल्स र इरान आमनेसामने हुँदैछन्। अहमेद बिन अली स्टेडियममा सवा ४ बजे समूह बी का यी दुई टोली आमनेसामने हुँदैछन्। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा इरान इङ्ग्ल्याण्डसँग ६-२ गोलअन्तरले पराजित भएको थियो भने वेल्स अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

इरानविरुद्ध कठिन खेल हुनेछ। उनीहरू एक धेरै राम्रो टोली हो। तर पक्कै पनि हामी हामी उनीहरूलाई हराउनेमा विश्वस्त छौँ ।  आजको खेल खेले वेल्सका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्न लागेका कप्तान ग्यारिथ बेलले भने। उनले हालसम्म १०९ क्याप जितेका छन्। ३३ वर्षे बेल वेल्सका लागि सर्वाधिक ४१ गोल गर्ने खेलाडी हुन्।

त्यस्तै आज हुने दोस्रो खेलमा आयोजक कतार र सेनेगल भिड्नेछन् । अल थुममा स्टेडियममा हुने समूह ए को खेलमा यी दुई टोली पौने ७ बजे भिड्नेछन्। आफ्नो पहिलो खेलमा कतारले इक्वेडरसँग २-० गोलले र सेनेगलले नेदरल्याण्ड्ससँग २-० गोलअन्तरले पराजय ब्यहोरेको थियो। पहिलो खेलमा पराजय ब्यहोरेका दुबै टोली जितको दवाबमा मैदान उत्रने छन्।

आज हुने तेस्रो खेलमा समूह ए मा प्रतियोगितामा सुखद सुरुवात गरेका नेदरल्याण्ड्स र इक्वेडर भिड्नेछन्। आफ्नो पहिलो खेलमा इक्वेडरले कतारलाई र नेदरल्याण्ड्सले सेनेगललाई समान २-० गोलअन्तरले हराएको थियो। आजको खेलमा जित निकाल्दै दुबै टोली नकाउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छन्। खेल खालिफा इन्टरनेशनल स्टेडियममा बेलुकी पौने १० बजे सुरु हुनेछ।

भरे राति हुने अन्तिम खेलमा अमेरिका र इङ्ग्ल्याण्ड आमनेसामने हुनेछन्। अल बायत स्टेडियममा समूह बी को यो खेल राति पौने १ बजे सुरु हुनेछ। अमेरिकाले आफ्नो पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो भने इङ्ग्ल्याण्डले इरानलाई ६-२ गोलअन्तरले हराएको थियो।