Close This

सातामा दुईदेखि तीन सयमा अझै डेंगु संक्रमण

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

काठमाडौँ,११ मंसिर ।  नेपालमा प्रत्येक साता दुईदेखि तीन सयको हाराहारीमा डेंगु संक्रमित थपिने गरेका छन् । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चिसो मौसमका कारण लामखुट्टेको संख्या घट्दै गए पनि अझैसम्म संक्रमण देखिइरहेको छ ।

महाशाखाको तथ्यांकअनुसार हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण देखिँदा ६० जनाको मृत्यु भएको छ । साउनबाट पिक लिएको संक्रमण मंसिरको पहिलो साता बित्दासमेत शून्यमा झर्न सकेको छैन । महाशाखाअन्तर्गतका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले दैनिक २० भन्दा कम केस देखिए पनि हालसम्म देशभर संक्रमण जानकारी दिए । 

देशभर डेंगु संक्रमण फैलिरहे पनि महाशाखाले दैनिक संक्रमणको अपडेट ठप्प पारेको छ । हाल देशभर एक सय १८ वटा अस्पतालले मात्र दैनिक रिपोर्ट पठाइरहेकाले दैनिक अपडेट दिन नसकेको महाशाखाले जनाएको छ ।

डा. दाहालका अनुसार दैनिक थपिनेको संक्रमितका आधारमा अबको दुई सातासम्ममा संक्रमणदर घट्ने अनुमान गरिएको छ ।  सबैभन्दा बढी प्रभावित रहेको काठमाडौं उपत्यकामा पनि अस्पताल पुग्ने संक्रमितको संख्यामा उलेख्य कमी आइसकेको चिकित्सकले बताएका छन् ।