Close This

पूर्वमन्त्रीहरु जो प्रतिनिधि सभा सदस्यको चुनाव हारे

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

धनगढी,११ मंसिर । संघीय सरकारका मन्त्री भइसकेका पाँच जना पूर्वमन्त्रीहरु कैलालीमा चुनाव हारेका छन् । गत हप्ता भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उनीहरुले पराजय भएका हुन ।

पराजित हुनेमा पूर्वमन्त्रीहरु लेखराज भट्ट, गौरीशंकर चौधरी, रामजनम चौधरी, नारदमुनि राना र पुष्करनाथ ओझा रहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा छ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा पाँच जना असफल भएका हुन । पूर्वमन्त्री बीरबहादुर बलायरमात्रै कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भए ।

बलायरले अर्का पूर्वमन्त्री लेखराज भट्टलाई उनलकै मैदानमा पराजित गरे । दुई पटक निर्वाचन जितेका भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हासिल गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भट्ट श्रम तथा यातायात मन्त्री भएका थिए । यसैगरी केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । यस पटकको निर्वाचनमा उनी तीन हजार ५८४ मतान्तरले पूर्वमन्त्री बलायरसंग पराजित भए ।

पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा विजयी बलायरले २६ हजार १७१ मत प्राप्त गरे ।  
यसैगरी, कैलाली क्षेत्र नं. १ मा पूर्वमन्त्री रामजनम चौधरी अत्यधिक मतान्तरले पराजित भएका छन् । उनलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरिन । पराजित चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाए । 

राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी २०४८ सालदेखि निरन्तर टिकट पाएर चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० को निर्वाचन जितेका थिए । २०७४ देखि भने उनको लालकिल्ला भत्किएको छ । चौधरी २०७४ मा कैलाली क्षेत्र नं. ३ मा पराजित भएका थिए । यसपटक क्षेत्र नं. १ मा पराजित भएका छन् । चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्यमन्त्री भएका थिए । 

त्यस्तै, कैलाली क्षेत्र नं. ३ मा पूर्वमन्त्री गौरीशंकर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हार व्यहोरेका छन् । नौ हजार ८७४ मत प्राप्त गरेर उनले तेस्रो स्थानमा चित्त बझाए । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए । पूर्व माओवादी गौरीशंकर यस पटक नेकपा (एमाले) बाट चुनाव लडेका थिए । उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुई पटक मन्त्री भइसकेका छन् । 

चौधरीले तत्कालीन माओवादी पार्टीबाट २०७० को संविधान सभाको निर्वाचन कैलाली क्षेत्र न.. ४ र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र नं. ३ बाट जितेका थिए । त्यस्तै, क्षे नं. ५ मा दुई पूर्वमन्त्रीहरु पराजित भएका छन् । पूर्वमन्त्रीद्वय नारदमुनि राना र पुष्करनाथ ओझा पराजित भएका हुन । पूर्व वन तथा वातावरणमन्त्री रहेका राना नेपाली कांग्रेसका डिल्लीराज पन्तसंग एक हजार ७४ मतान्तरले पराजित भए । पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे । विजयी पन्तले भने २१ हजार ३९२ मत पाए । आठ हजार ३४९ मत पाएका ओझाले तेस्रो स्थानमा चित्त बुझाए । 

रानाले यसअघि, २०७४ को निर्वाचन यहि क्षेत्रबाट जितेका थिए । नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरेर उनी चर्चामा आएका थिए । यसैगरी, पूर्व राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं. ३ बाट जितेका थिए । २०७० को उपनिर्वाचन भने उनले क्षेत्र नं. ५ बाट जितेका थिए । डडेल्धुरा र कैलाली–५ मा चुनाव जित्नु भएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो।प्रदेशका बहालवाला मन्त्रीपनि पराजित
कैलालीमा सुदूरपश्चिम प्रदेशका दुई जना बहालवाला मन्त्रीले पनि प्रदेश सभा सदस्यतर्फ चुनाव लडेका थिए । जसमध्ये एक जनाको जित र एक जनाको हार भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी कैलाली–४ प्रदेश सभा (क) बाट पुनः निर्वाचित भएका छन् । तर, आर्थिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल भने पराजित भएका छन् । कैलाली–१ प्रदेश सभा (ख) मा उनलाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पराजित गरे । 
दुई पूर्व मेयर पनि पराजित
कैलालीमा दुई पूर्व मेयर पनि प्रदेश सभा सदस्यको निर्वाचनमा असफल भएका छन् । गौरीगंगा नगरपालिकाका पूर्व मेयर भीमबहादुर देउवा र गोदावरी नगरपालिकाका पूर्व मेयर हरिसिंह साउँद निर्वाचनमा पराजित भएका हुन । नेकपा (एमाले) बाट चुनाव लडेका उनीहरुलाई वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले कैलाली–४ प्रदेश सभा (क) र (ख) मा पराजित गरे ।