Close This

सुदूरपश्चिमको भावी मुख्यमन्त्रीमा प्रकाश देउवाको चर्चा

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

धनगढी, ११ मङ्सिर । सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवाको चर्चा सुरु भएको छ ।देउवा कैलाली क्षेत्र नम्बर ५ को प्रदेश खबाट एमालेका उम्मेदवार दुर्गा जोशीलाई तीन हजार १६० मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

देउवा युवा माझ लोकप्रिय छन् । युवाहरूले निकै रुचाएका देउवा सबै पार्टी र समुदायको मत पाएर प्रदेश सभामा सुदूरपश्चिममै सबैभन्दा फराकिलो मतान्तरले विजयी भएका हुन् । ।

सुदूर पश्चिम सरकारको पहिलो कार्यकाल माओवादीका तर्फबाट त्रिलोचन भट्टले नेतृत्व गरेका थिए । माओवादी नेतृत्वमा प्रदेश सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न युवा नेतृत्व आवश्यक भएको भन्दै विभिन्न पार्टीका नेता तथा सुदूरपश्चिमका अगुवाहरूले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिन थालेका छन् ।

युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने मुख्यमन्त्रीका रूपमा देउवालाई हेरिएको छ । उद्योगी व्यापारीहरू र यस क्षेत्रका स्थानीय तहका पदाधिकारी तथा पार्टीका युवा नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सुदूरपश्चिमको प्रदेश सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिसकेका छन् ।

तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । प्रदेश सरकारलाई सङ्घीय सरकारसँग जोड्न सक्ने कडिका रूपमा देउवालाई हेरिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा काम गरिसकेका देउवाले सुदूरपश्चिमको विकास र समृद्धिका लागि आवश्यक पर्ने बजेट र योजना ल्याउन सक्ने सामर्थ्य र पहुँच राख्ने बताइन्छ ।

प्रदेश सभामा प्रत्यक्ष तर्फ ११ सिट जितेर नेपाली काँग्रेस सुदूर पश्चिम ठुलो दल बनेको छ । प्रत्यक्ष तर्फ थप एक सिट जित्ने आङ्कलन गरिएको छ । र समानुपातिक तर्फ उसले ८ वटा सिट ल्याउने अनुमान गरिएको छ ।

सुदूरपश्चिममा सरकार निर्माणका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत भएको र नेपाली काँग्रेस सबैभन्दा ठुलो दल भएकोले काँग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन हुनु पर्ने नेपाली काँग्रेसका नेताहरूको जिकिर छ ।