Close This

कैलाली–३ मा चौध हजार ८४९ मत बदर

आइतबार मङ्सिर ११, २०७९/ Sunday 11-27-22
Paschim Today

कैलाली, ११ मंसिर । कैलाली क्षेत्र नं. ३ मा प्रत्यक्ष र समानुपातिकतर्फ १४ हजार ८४९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ सात हजार ५१४ र समानुपातिकतर्फ सात हजार ३२६ मत बदर भएको हो । 
कैलाली क्षेत्र नं. ३ का निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालका अनुसार मतदाता सङ्ख्या एक लाख सात हजार ६५९ रहेको सो क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा खसेको जम्मा मत सङ्ख्या ६३ हजार ७४० रहेकामा चार हजार २१ मत बदर भएको छ । 
त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा ६४ हजार १४८ खसेको मतमा चार हजार ३३८ मत बदर भएको छ । प्रदेश सभा सदस्यतर्फ प्रत्यक्षमा (क)मा खसेको मत सङ्ख्या ३३ हजार ९२६ मा एक हजार ६१७ बदर भएको छ भने (ख)मा ३० हजार पाँच खसेको मत सङ्ख्यामा एक हजार ८७६ मत बदर भएको छ ।  समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि (क)मा जम्मा खसेको मत सङ्ख्या ३३ हजार ९८४ मा एक हजार ९९३ मत बदर भएको छ । (ख)मा जम्मा खसेको मत सङ्ख्या १८ हजार ३०८ मध्ये ९९५ मत बदर भएको जनाइएको छ ।
कैलाली क्षेत्र नं. ३ को समानुपातिकतर्फ प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि सबैभन्दा बढी मत नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पाएको छ । क्षेत्र नं. ३ को निर्वाचन कार्यालयबाट प्राप्त मतपरिणामअनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि २१ हजार ५४९ मत प्राप्त गरेर नाउपा अग्रस्थानमा रहेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ नेपाली कांग्रेसले १० हजार सात मत प्राप्त गरेर दोस्रो स्थानमा छ भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आठ हजार ४१६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ सात हजार ५३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ३९२, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दुई हजार ६६१ मत पाएको छ ।
त्यसैगरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि (क) र (ख) दुवैमा समेत नागरिक उन्मुक्ति पार्टीले नै बढी मत पाएको छ । (क)मा १३ हजार ६८९, (ख)मा सात हजार ६९५ मत पाएर नागरिक उन्मुक्ति अग्रस्थानमा छ । नेपाली कांग्रेसले (क)मा पाँच हजार ८६३ र (ख) मा तीन हजार ८६६ मत प्राप्त गरेको छ। शुक्रबार मतगणना सम्पन्न भएको सो क्षेत्रमा माओवादी केन्द्रले प्रदेश (क) मा पाँच हजार ९६९ र (ख)मा दुई हजार ८३३ मत पाएको छ । एमालेले (क) तीन हजार ४७८ र (ख) मा एक हजार ३५४ मत, राप्रपाले (क)मा एक हजार ४११ र (ख)मा ९७२ मत पाएका छन् । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो। सो क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा सबैभन्दा बढी २३ हजार १२० मत प्राप्त गरी नागरिक उन्मुक्तिका गङ्गाराम चौधरी विजयी भएका छन् ।