Close This

प्रख्यात अमेरिकी कलाकार ‘ म्यान वन’ नेपाल आउँदै

सोमबार मङ्सिर १२, २०७९/ Monday 11-28-22
Paschim Today

काठमाडौं, १२ मंसिर । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ नेपालमा हुने सडक कला प्रदर्शनीमा सहभागी हुने भएका छन् । कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मान गर्नका  लागि आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी हुन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा म्यान वनले काठमाडौं र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना गर्नेछन् । नेपाली म्युरल (भित्ते चित्र) चित्रकार, ग्राफिटी (भित्ते लेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरूको समूहले मङ्सिर १२ गते  एक प्रत्यक्ष कला कार्यशालामा भाग लिनेछ ।

अर्को हप्ता, नेपाली कलाकारहरूले अल्पसङ्ख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रूपमा काम गर्नेछन् । मङ्सिर २३ मा एक वृहत् आकारको पूर्ण भित्ते चित्र सार्वजनिक गरिनेछ।