Close This

वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको लगातार चौथो जीत

सोमबार मङ्सिर १२, २०७९/ Monday 11-28-22
Paschim Today

काठमाडौं, १२ मंसिर । प्रदेश १ माथि सोमवार २ सय १३ रनको फराकिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार चौथो जितलाई निरन्तरता दिएको छ । 
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो । प्रदेश नम्बर १ का लागि भुपाल दंगालले सर्वाधिक १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् भने सुदूरपश्चिम प्रदेशले १६ रन खर्चिएको थियो । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका हेमन्त धामीले सर्वाधिक ५ विकेट निकाल्दा आकाश चन्दले ३ तथा मिलन बोहराले २ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान अनुराग सिंह र मिलन बोहोराको अर्धशतकीय इनिङको सहयोगमा २ सय ६४ रनको योगफल बनाएको थियो । पूरै ५० ओभर खेलेको सुदूरपश्चिमले ९ विकेट गुमाउन पुगेको थियो । अर्धशतकीय पारी खेलेका कप्तान अनुरागले व्यक्तिगत ८३ रन बनाउँदा मिलनले ६४ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस बाहेक दीपक बोहोराले ३२ रनको योगदान गर्दा गजेन्द्र बोहोराले २४ रन बनाए । बलिङतर्फ प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक ४ विकेट निकाले । यस्तै आशिस खरेल र दिपेश कँडेलले समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

यस जितसँगै सुदूरपश्चिम प्रदेशले ४ खेलबाट स्पष्ट जित हात पार्दै तालिकामा ८ अंक बनाएको छ । सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा अटाउँदा पराजित प्रदेश १ को ३ खेलबाट २ अंक छ ।
प्रतियोगिता अन्तर्गत सोमवार नै मुलपानीमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेट हरायो । ओसिलो मैदानका कारण खेल ४० ओभरमा घटाइएको थियो । गण्डकीले ३६.३ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ४० ओभर सकिन ४ बल बाँकी रहँदा भेटाउन सफल रह्यो । लुम्बिनीका लागि विशाल भुषाले अविजित ५२ रनको पारी खेले । ओपनर आकाश त्रिपाठीले ४५ रनको व्यक्तिगत स्कोर बनाउँदा विकेटकिपर प्रज्वल थापाले २४, अर्का ओपनर देव खनालले १५ रनको योगदान गरे । बलिङतर्फ गण्डकीका किरण भट्टराई र सुदीप अर्यालले समान २÷२ विकेट लिए । यस्तै सुवास भण्डारी र निर्तेश गिरीले समान १-१ पाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले प्रदेशकालागि सुदीप अर्यालले सर्वाधिक ३६ रनको पारी खेल्दा दीपक डुम्रले ३०, करण पंगेनीले २९ तथा गोविन्द बिकले १० रनको व्यक्तिगत स्कोर बनाए । यस्तै शिशिर भुषाल १२ रनमा अविजित रहे । बलिङतर्फ दुर्गेश गुप्ताले सर्वाधिक ५ विकेट निकाले । यस्तै निर्मल गुरुङले ३ तथा नर शार्की र तुलबहादुर थापाले समान १-१ विकेट हात पारे । प्रतियोगितामा मंगलवार कीर्तिपुर मैदानमा वागमती र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुँदा मुलपानी मैदानमा मधेस प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।