Close This

पाँच जना जनप्रतिनिधिमात्रै दोहोरिए

मंगलबार मङ्सिर १३, २०७९/ Tuesday 11-29-22
Paschim Today

धनगढी, १३ मंसिर । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान पाँच जना प्रदेश सभा सदस्यमात्रै दोहोरिएर जनप्रतिनिधि भएका छन् । २०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका हुन । दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभामा विजयी भएका छन् । 
कञ्चनपुर क्षेत्र नं. १ बाट नेकपा (एमाले) का तारा लामा तामाङ र कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभामा विजयी भएका छन् । उनीहरु २०७४ मा क्रमशः कञ्चनपुर क्षेत्र नं. १  ‘क’ र कैलाली क्षेत्र नं. ५ ‘ख’ बाट विजयी भएका थिए । तामाङ प्रदेश सभामा नेकपा र नेकपा (एमाले) को प्रमुख सचेतक एवम् आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । 
प्रदेश सभामा फेरि विजयी हुनेमा नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः बहालवाला भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी कैलाली क्षेत्र नं. ४ ‘क’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ ‘क’ रहेका छन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  तथा नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी दार्चुला ‘ख’ बाटै फेरि विजयी भएका छन् । 
५३ सदस्यीय प्रदेश सभाका १५ जना प्रदेश सभा सदस्य चुनावमा फेरि उठेका थिए । १५ मध्ये तीन जना प्रतिनिधि सभाका उम्मेदवार भएका थिए । कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी भए पनि अछाम क्षेत्र नं. १ बाट नेकपा (एमाले) कै झपटबहादुर बोहरा पराजित भए । 
यस्तै कैलाली ’ख’ बाट बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र डडेलधुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित भए । नेपाली काँग्रेसका उम्मेदवार थिए । 
पराजित हुने प्रदेश सभा सदस्यमा डडेलधुरा ‘क’ बाट पठानसिंह बोहरा र बैतडी ’क’ बाट लीलाधर भट्ट रहेका छन् । बोहरा नेकपा (एमाले) का उम्मेदवार थिए । 
नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः कैलाली क्षेत्र नंं. ३ ’ख’ बाट  अमरबहादुर साउद र कञ्चनपुर क्षेत्र नंं. २ ‘ख’ बाट लालबहादुर खड्का पराजित भए । साउद गठबन्धनकै उम्मेदवार थिए भने खड्का एक्लै चुनाव लडेका थिए । कैलाली क्षेत्र नंं. १ ‘क’ बाट  रतन, ‘ख’ बाट नेकपा (माओवादी केन्द्र ) का नेता  नन्दबहादुर साउद पराजित भए । सोही क्षेत्रबाट २०७४ मा विजयी भएका थिए । 
यस्तै कैलाली क्षेत्र नंं. १ ‘क’ बाट कृष्णबहादुर चौधरी र कैलाली क्षेत्र नं. २ ‘क’ बाट रतन थापा पराजित भएका छन् । चौधरी लोकतान्त्रिक समाजवादी  पार्टी र थापा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । पराजित हुने डडेलधुराका पठानसिंह बोहरा, कञ्चनपुरका लालबहादुर खड्का प्रदेश सरकारका पूर्व मन्त्री र कैलालीका अमरबहादुर साउद पूर्व राज्यमन्त्री थिए । 
बाजुरा ‘क’ मा प्रदेश सभा सदस्य बलदेव रेग्मी नेकपा (एमाले) को उम्मेदवार बनेका छन् । बाजुरामा अझै मतगणना हुनसकेको छैन ।