Close This

पाण्डेको जीवन रक्षामा चुकेको सरकार

आइतबार पौष १७, २०७९/ Sunday 01-01-23
दीर्घराज उपाध्याय

कम्बोडिया र थाईल्याण्डको सिमाना नजिकै रहेको पोईपेटस्थित ग्राण्ड डायमण्ट सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीमा परी गत बुधवार झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भयो । बिर्तामोड नगरपालिका–१ झापाका पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबर मार्फत कल गरेर आफ्नो अवस्थामा बारे जानकारी गराएका थिए ।

घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएनका पदाधिकारीहरुसँग अनुरोध समेत गरेका थिए । उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानी समेत गरेका थिए । होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए । होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए । पाण्डेयले हामफाल्नुअघि ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका थिए, ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ यु । आर्मन इज द वेस्ट है सानु ।’

सामाजिक सञ्जालमा यतिबेला पाण्डेको मृत्युको समाचार र उनले परिवारजनसंग गरेको कुराकानी भाईरल भएको छ । पाण्डेको मृत्युले देश विदेशमा बस्ने नेपालीहरु भावविह्वल भएका छन् । बाचुञ्जेल यो घट्नाले परिवारजनलाई पीडा दिनेछ ।

पाण्डेयको मृत्यु सरकारका लागि एक नागरिकको मृत्यु मात्र होला । र त, सरकार यो घट्नामा मौन छ । तर पाण्डेको मृत्यु उनका लागि अपुरणीय क्षति हो । जसको भर्पाई हुन सक्दैन । परिवारका लागि पाण्डे सर्वस्व थिए । सन्तानले अभिभावक गुमाएका छन् । श्रीमतीले सहयात्री, दुःखसुखको साथी र भरोसा गुमाएकी छन् । बाआमाले छोरा गुमाएका छन् ।

सुन्नै नसकिने पीडादायी शब्दहरु । हेर्नै नसकिने हृदय बिदारक दृष्य । प्रियजन गुमाउने त्यो परिवारको के कुरा, जसले छोरा/बुवा/पति/भाई गुमाएको छ, मन र मुटु भएको कुनै पनि मान्छेले यो दृष्य कल्पना पनि गर्न सक्दैन । संवेदना र भावना हुने मान्छेलाई यस्तो दृष्यले कैयौ रात सुत्न नसक्ने बनाउछ । बनाएको छ । एउटा सामान्य मान्छे यो घट्नाले बिक्षिप्त हुन्छ । तर सरकारलाई भने यो घट्ना सामान्य लाग्छ । उसलाई त यो रत्तिभर पीडा छैन । उसलाई यो घट्नाले रत्तिभर दुखाएको छैन । सरकारको दायित्व नागरिकता बाडेर मात्र पुरा हुदैन । नागरिकको जीवन रक्षा उसको पहिलो जिम्मेवारी हो ।

आगलागी भएको चार घण्टासम्म कहीकतैबाट पाण्डेलाई जोगाउने प्रयत्न नहुनु । एनआरएनले कुनै पहलकदमी नहुनु । नेपाल सरकार, म्यानमार र थाईल्याण्डस्थित नेपाली दूतावासले आफ्ना नागरिकको जीवन रक्षाका लागि प्रयास नहुनु । यो घट्नाले प्रवासमा रहेका नेपालीहरु देश बिहीन र सरकार बिहीन अवस्थामा रहेको अनुभूति हुन्छ । प्रवासी नेपालीहरुको रेमिट्यान्समा देश चलेको छ । देशको अर्थतन्त्र धानेको छ । तर सरकारले सरकार हुनुको जिम्मेवारी निभाउन सकेन । उ आफ्नो दायित्व र कर्तव्यबाट च्यूत भयो । सरकार गैर जिम्मेवार हुदा त्यो देशका नागरिकको मृत्यु कति पीडादायी हुन्छ, त्यसको उदाहरण हो, पाण्डेको मृत्यु ।

गृह मन्त्री रवि लामिछानेले बुझेको हुनुपर्छ, प्रवासी नेपालीको पीडा, लामिछाने स्वयम लामो समय प्रवासमा बिताएका व्यक्ति हुन् । प्रवासमा देश र अभिभावक बिहीन हुनुको पीडा कस्तो हुन्छ, त्यसको महशुस लामिछानेलाई पक्कै हुनुपर्छ । सस्तो लोकप्रियताका लागि क्यान्टिनमा खाना खाने । अनि अर्थतन्त्र जोगाउने नाममा विदेशबाट मोवाईल ल्याउने प्रवासी नेपालीहरुबाट त्यो जफत गर्ने निर्णय गर्ने । यस्ता स्टन्टको प्रहसन कम्तिमा लामिछाने र यो सरकारले गर्न हुदैन । यस्ता प्रहसन यसअघि पनि धेरै भईसके । प्रवासमा अकालमा जीवन गुमाईरहेका पाण्डेहरुका मृत्यु नदेख्ने तर प्रवासबाट आउने नेपालीहरुले ल्याउने मोवाईल भने देख्ने ? यो कस्तो रोग हो ?

प्रवासमा नेपालीहरुका नाममा राजनीति गर्ने गैर आवासीय नेपाली र दर्जनौ संघसंस्थाहरु पनि छ । तर नेपालीको यस्तो बिभत्स मृत्युमा उसको मौनता, लाचारी र लापरबाही उदेक लाग्दो छ । प्रवासका शव गृहमा रहेका नेपालीहरुको लाश पठाउन चन्दा उठाउन छोड । कम्तिमा कोही यसरी लाश बन्न नपरोस । त्यसका लागि बरु लगानी गर । एनआरएन के का लागि दुई चिरा भयो ? के का लागि प्रवासमा नेपालीहरु एनआरएन र बिभिन्न नाममा लडिरहेका छन् ? जसले आफ्नै साथी, सहकर्मी र सदस्यको ज्यान जोगाउन सक्दैन, त्यस्तो संस्था चाहियो, किन ? मृत्युपछि समवेदना र सहानुभूति होईन, जिउदो छदा उसलाई जोगाउने प्रयत्न गर ।

आफ्ना नागरिकको जीवन रक्षा गर्न नसक्ने सरकारलाई किन प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउने ? नेपाल सरकारले पहलकदमी र कोसिस गरेको भए पाण्डेले ज्यान गुमाउनु पर्ने थिएन । पाण्डेय त एउटा उदाहरण हुन् । दिनहु प्रवासमा कति युवाहरुले यसरी अकालमा मृत्युबरण गरिरहेका छन् ? तिनको मृत्यु सरकारलाई कहिल्यै छुदैन । कहिल्यै दुख्दैन । गरीव देशको नागरिक हुनुको नियति हो, पाण्डेको मृत्यु ।

यो घट्नामा नेपाल सरकारले तत्काल कम्बोडिया सरकारसंग जवाफ माग्नुपथ्र्यो । किन पाण्डेको जीवन रक्षाका लागि कम्बोडिया सरकारले पहलकदमी गरेन ? नेपाल सरकारले म्यानमार र थाईल्याडस्थित नेपाली दूतावासका राजदूत र त्यहाँ कार्यरत कर्मचारीहरुलाई तत्काल बर्खास्त गर्नुपथ्र्यो । जसले आफ्ना नागरिकको मृत्यु टुलुटुलु हेरिरहे । उदेक लाग्दो कुरा त के भने निराकार पाण्डेको मृत्युमा सरकारले चासो, चिन्ता वा संवेदना व्यक्त गरेन ।।

विदेशबाट फर्किदा नेपालीले ल्याउने मोवाईलमा सरकारको ध्यान गएको छ । मानौ मोवाईलको कर नअसुल्दा यो देश आर्थिक संकटमा परेको हो ।

त्यही बिमानस्थल भएर हरेक दिन कफिनमा आउने शबहरु सरकारले देख्दैन । र, बियोगमा उनीहरुका प्रियजनका आँखामा अविरल बगिरहने आँशुले उ पग्लिदैन । उसलाई बस्, रेमिट्यान्स चाहिएको छ । रेमिट्यान्स पठाउनेहरु कोमामा हुन वा कफिनमा आउन, उसलाई कुनै फरक पर्दैन ।

विदेशबाट फर्किदा लुटिएको मोवाईल धन्न समाचार बन्न थाल्यो । झोला र झोलामा भएका सामानहरु आफ्नै देशका रक्षकहरुबाट लुटिएको कहिल्यै समाचार बनेन ।

मल दिदैन । आफैले जोहो गरे किसानको शरीरमा बुट बजार्दै भन्छ, तस्करी गर्न छुट छैन । सरकार यस्तो छ कि, गरिखान पनि दिदैन । मरि जान पनि दिदैन ।

राहदानी लिन सहज बनाउ सरकार । तर त्यो भन्दा बढि यही रोजगारी पाउने अवस्था सहज गर । अझै यही केही उद्यम गर्छौ भन्नेलाई काम गर्ने वातावरण बनाई देउ ।

प्रवासबाट आएका एक युवा गुनासो गर्दै थिए, आफ्नै देशमा केही उद्यम गरौ भनेर फर्केर आए । तर यहाँ काम गरिखान दिने सरकारको नीति नै छैन । कर्मचारी यस्ता छन्, हाजिर गरे वाफत तलव बुझ्छन । काम गरे वाफत कमिसन ।जव उसको दायित्वको कुरा आउछ, तव उ पञ्छिन्छ । र उल्टै प्रश्न गर्छ, प्रवासीलाई किन चाहियो, नागरिकता ? किन चाहियो मताधिकार ? राज्यको ढुकुटी भर्न खाडीमा पसिना बगाउनेहरु लुटिदा उसलाई फरक पर्दैन । किनकी उ सरकार हो । उसंग न मन छ । न त मुटु । मन र मुटु नहुनेसंग दया,माया र संवेदनाको अपेक्षा गर्नु नै गलत हो ।