Close This

जिन्दगीमा आज, अहिले र म : तपाईं किन दु:खी, किन खुशी ?

बुधबार पौष २०, २०७९/ Wednesday 01-04-23
बबिता बस्नेत

‘आज म धेरै खुशी छु’ या ‘आज मलाई निकै दु:ख लागेको छ’, ‘अहिले म दु:खी छु’ या ‘अहिले म सुखी वा खुशी छु’- यी र यस्ता कुराहरू निकटवर्ती, आफन्त तथा साथीहरूबाट हामी प्राय: सुनिरहेकै हुन्छौँ । ‘आज’ ‘अहिले’ र ‘म’ यी तीनवटै शब्द मानिसको जीवनमा निकै महत्वपूर्ण छन् । हरेक मानिससँग ‘आज’ छ, हामी बाँचुञ्जेल ‘अहिले’ रहन्छ । हिजो बितिसक्यो, भोलि कसैले देखेको छैन । ‘भोलिका लागि’ भनेर जे-जे गरेपनि र केही नगरेपनि कसैको जिन्दगीमा भोलि आएको हामीलाई थाहा छैन । जिन्दगीमा ‘अहिले’ हिजो थियो, आज छ र बाँचुञ्जेल रहन्छ । मानिसको जीवनमा ‘म’को महत्व विशेष किन छ भने हरेक मानिसले आफूलाई केन्द्रमा राखेर दृष्टिकोण तय गर्छ । मैले सोचेको कुरा, मैले हिँडेको बाटो, मेरो रोजाई…मेरो चाहना…मेरो भविष्य… ‘म’बाट ‘हामी’सम्म पुग्न मानिसलाई धेरै समय लाग्छ । कतिपय मानिसहरूले त ‘म’बाट सुरु भएको यात्रा ‘म’ हुँदै ‘म’मै टुङ्ग्याइरहेका हुन्छन् । ‘म’बाट ‘हामी’सम्म पुग्नका लागि फराकिलो सोच, जीवन र जगतलाई हेर्ने फरक दृष्टिकोण र परिपक्वताको आवश्यकता पर्छ ।

यो संसारमा दु:खी मानिसहरू धेरै होलान् कि सुखी ? दु:ख केलाई मान्ने ? खुशी केलाई ठान्ने ? खुशी र पीडा मनसँग सम्बन्धित छ । सुख र दु:ख शरीरसँग सम्बन्धित छ । सुख पाउनुको अर्थ शरीरलाई आराम या शरीरलाई आनन्द महसूस हुने कुरा हो । सुख र दु:ख त फरक हुन् नै, सुख र खुशी पनि फरक कुरा हुन् । सुखको अनुभूति शरीरले गर्छ भने खुशीको महसूस मनले गर्छ । खुशी कहाँबाट प्राप्त हुन्छ या खुशीको श्रोत के हो भनेर खोजी गर्ने हो भने खुशीको स्थाइ श्रोत अहिलेसम्म कतै फेला परेको छैन । पैसा या धन-सम्पत्ति नहुनेका लागि पैसा भयो भने खुशी मिल्छ तर त्यो खुशी क्षणिक हुन्छ । जब पैसा हुन्छ अनि मान्छे फेरि यता मिल्छ कि उता मिल्छ भन्दै खुशीको खोजीमा भौँतारिन थाल्छ । धन सम्पत्ति, नाम, मान, प्रेम, मदिरा, प्रेमी या प्रेमिका, पति या पत्नी, सन्तान यी र यस्ता अनेक कुरामा मानिसहरू खुशी खोजीरहेका हुन्छन् । मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफू खुशी हुनकै लागि गरिरहेका हुन्छन् । आफ्ना साना, ठुला हरेक उपलब्धिमा मानिस खुशी हुन्छ तर प्राप्तिको कुनै सीमा हुँदैन, त्यसैले खुशीको सिमा या स्थाई श्रोत यही हो भनेर भन्न सक्ने अवस्था छैन ।

शास्त्र भन्छ- जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी हुन्छन्, ति हुन्- ‘विद्या, असल जीवनसाथी, नियमित पैसा आउने या गरिखाने ठाउँ, राम्रो स्वास्थ्य र भनेको मान्ने अर्थात् आज्ञाकारी सन्तान ।’ तर यी पाँच कुरा एउटै मानिसको जीवनमा एकैपल्ट भइरहेका हुँदैनन् । कोही विद्वान् छन् तर जीवनसाथीसँग राम्रो सम्बन्ध छैन । कसैको पति-पत्नीबीच सम्बन्ध राम्रो छ तर धन आर्जन हुने ठाउँ छैन । कसैको पति-पत्नीबीच राम्रो सम्बन्ध छ, विद्या पनि छ तर सन्तानबाट सुख छैन । कसैको सन्तानबाट सुख छ, गरिखाने ठाउँ छ, सम्बन्ध पनि राम्रो छ तर स्वास्थ्य राम्रो छैन । यी पाँचै कुराको तालमेल मिल्ने मान्छेको सङ्ख्या खोज्दै गयो भने नभेटिन पनि सक्छ या अत्यन्त थोरै छ । आफूवरिपरिको परिस्थिति जे-जस्तो भएपनि आफू खुशी हुँदा संसार राम्रो देख्ने र दु:खी हुँदा संसार अँध्यारो देख्नेहरूको सङ्ख्या ठुलो छ ।

धन सम्पत्ति, नाम, मान, प्रेम, मदिरा, प्रेमी या प्रेमिका, पति या पत्नी, सन्तान यी र यस्ता अनेक कुरामा मानिसहरू खुशी खोजिरहेका हुन्छन् । मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफू खुशी हुनकै लागि गरिरहेका हुन्छन् ।

खुशी केलाई मान्ने ? केलाई ठान्ने ? धन सम्पत्ति, पैसा ? सम्बन्ध ? राम्रो सम्बन्ध भए आफुलाई पूर्ण मान्ने मान्छेहरूको सङ्ख्या ठुलो छ । खुशीकै लागि मानिसहरू प्रेम गर्छन्, विवाह गर्छन्, घुम्न जान्छन्, राम्रो लाउने, मिठो खाने, साथीभाइ, आफन्त, चाडबाड धेरै कुरा खुशीसँग जोडिएको हुन्छ । तर अलिकति तलमाथि हुने बित्तिकै यी सबै कुराबाट मानिसले पाउनेचाहिँ दु:ख नै हो । प्राय: मानिसहरूले आफ्नो खुशीलाई अरुको हात या साथमा राखेर हिँडेको देखिन्छ । कसैले राम्रो भनिदिँदा दङ्ग पर्ने, नराम्रो भनिदिँदा या गर्दा दु:खी हुनुको अर्थ आफ्नो खुशी अरुमा निहित हुनु नै त हो । मानिसको माइण्ड यस्तो कुरा हो जसले कतिबेला के सोच्छ भन्न सकिन्न । हाम्रा सोच र परिकल्पनाहरूको कुनै सीमा छैन । आफ्नै माइण्ड त आफूले नियन्त्रणमा राख्न नसक्दा कतिबेला के गर्छ भन्न सकिन्न भने अरुले कतिबेला, कहाँ, के भनिदिन्छन्, के गरिदिन्छन् कसरी थाहा हुन्छ ? यस्ता कुराहरूमा जानकार हुनुभन्दा थाहा नपाएकै राम्रो पनि हो । त्यसैले अरुको हातमा खुशी रहने परिस्थिति हुन्जेल मानिस दु:खी भइरहन्छ । आफूले प्रेम गरेको मानिसले धोखा दिन सक्छ, राम्रो ठानिरहेको मानिस नराम्रो निस्किन सक्छ, विश्वास गरिरहेका साथीभाइले फरक ब्यवहार गर्न सक्छन् । उनीहरूको बदलिँदो ब्यवहारसँगै दु:खी हुन थाल्यो भने मानिसले आफूलाई कहिल्यै पनि खुशी राख्न सक्दैन ।

एकपल्ट गौतम बुद्धसँग दुई दिन बसेपछि एक ब्यक्तिले आफू जीवनमा धेरै दु:खी भएकाले खुशी हुने उपाय सुल्झाउन आग्रह गरेछन् । जवाफमा बुद्धले आफूले अहिलेसम्म पाएको दु:खलाई एकातिर लाइन लगाएर लेख्नु अनि अर्को लाइनमा आफूले पाएको सुख र खुशी लेख्नु भन्दै दु:ख र खुशीको कारण पनि लेख्नु भन्नुभएछ । ती ब्यक्तिले दु:ख लेख्ने क्रममा सुरुमा लेखेछन्, मैले धन कमाउन सकिनँ, कारणमा लेखेछन्- किनभने मैले जति काम र मेहेनत गर्न सक्थेँ त्यति गरिनँ । दोश्रो नम्बरमा लेखेछन्- मेरो परिवारले मलाई राम्रो गर्दैनन्, जसका कारण म निकै दु:खी छु, कारण- मैले उनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । तेश्रो, छिमेकीहरू मसँग राम्ररी बोल्दैनन्, कारण- मैले छिमेकीलाई मर्दापर्दा कहिल्यै सहयोग गरिनँ । आफैले लेखेका कारणसहितका दु:खका श्रृङ्खला बुद्धलाई देखाउन उनलाई अप्ठ्यारो लागेछ । त्यसपछि सुख र खुशीतिर लागेछन् । कसैको ब्यवहार, सम्बन्ध, बोलीचाली, सफलता जे कुराले आफूलाई खुशी दिएका थिए ती सबै आफ्नै काम, मेहेनत, बोलीबचन र दानका परिणाम थिए ।

मानिसमा प्राय: आफ्नो परिस्थिति ठिकठाक भएको बेला सबैलाई राम्रो देख्ने र आफ्नो माहोल ठिक नहुँदा अरुलाई पनि खराब देख्ने प्रवृत्ति हुन्छ । खुशीको सन्दर्भमा सद्गुरुको यो भनाइ राम्रो लागेको थियो- ‘गाडीहरू सेल्फस्टार्ट भइसके मानिसचाहिँ अहिले पनि अरुमा खुशी खोजिरहेका छन् ।’ मानिसको खुशी सेल्फस्टार्ट नहुन्जेल उ दु:खी भइरहन्छ भन्ने उहाँको निष्कर्ष हो । एक्लोपनका विषयमा उहाँले भन्नुभएका कुरा पनि मननयोग्य छन् । उहाँ भन्नुहुन्छ, ‘यदि जीवनमा कोही हुँदाहुँदै या कसैको साथ रहँदारहँदै तिमी एक्लो महसूस गर्छौ भने तिमी सही मानिससँग छैनौँ ।’