Close This

महेश शाह : जसले अमेरिकाबाट फर्किएपछि व्यवसायमा नयाँपन दिए

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

दीर्घराज उपाध्याय ।

अध्ययनका लागि सन १९९१ मा अमेरिका पुगेका महेश शाह ११ वर्षपछि २००२ मा धनगढी फर्किए । सपनाको देश अमेरिका । जहाँ जान मान्छेहरु मरिहत्ते गर्छन । त्यो देशबाट शाह फर्किन्छन भन्ने आफन्त र साथीभाईहरुलाई विश्वास थिएन । उनी भने अमेरिकाको बसाई सधैका लागि बीट मार्दै स्वदेश फर्किए । अमेरिकाको युनिभर्सिटी अफ अलाबामाबाट होटल म्यानेजमेण्टको पढाई पुरा भएपछि उनले नेपाल फर्किन साईत कुरेनन ।

अमेरिका जादा उनी २१ वर्षका थिए । फर्किदा ३२ नाघिसकेका उनी आराम गरेर समय व्यतित गर्न चाहन्थेनन । अमेरिकामा हुदा उनले निकै हण्डर खाए । उनले कठिनभन्दा कठिन काम गरे । कैयौं रात भोकै बिताए । कैयौ रात गाडीमा बिताए । धनगढीमा सम्पन्न परिवारमा जन्मिएका शाहले यहाँ आरामदायी र सुबिधा सम्पन्न जीवन बाँचेका थिए । कहिल्यै कुनै किसिमको अभाव भोग्नु परेको थिएन । तर अमेरिकामा शाह धेरै समय बेखर्ची भए । अभाव व्यहोरे । पढ्न पैसा नहुदा केही वर्ष पढाई अगाडि बढाउन असमर्थ भए । उनी डिप्रेशनमा गए । तर विस्तारै ध्यान,योग, र ओशोको सान्निध्यले उनले आफूलाई सम्हाले । अनि पढाई पुरा गरे । र, उनी घर गृहस्थीभन्दाबाट टाढा जान चाहन्गे । हो, उनी सन्यासी बन्ने उद्देश्य बोकेर अमेरिकाबाट दिल्ली ओर्लिए । त्यहाँबाट उनी सोझै हरिद्धार जान चाहन्थे । तर दिल्ली बिमानस्थल बाहिर लुटिएपछि भने उनी त्यहाँबाट गौरीफन्टा भएर धनगढी फर्किए ।

धनगढी त फर्किए । तर उनीसंग कुनै योजना र सपना थिएनन । केही दिन आराम गरेपछि उनी चुप लागेर बस्न सकेनन । र, उनी त्यस्तो केही काम गर्न चाहन्थे । जो धनगढीका लागि नयाँ होस । अलग हो । घर नजिकै धनगढी नगर विकास समितिको सटरहरु खाली थिए । भाडामा पनि कसैले लिन मान्थेनन । किनकी व्यापार राम्रो थिएन । उनले भने नयाँबजारमा रहेका नगर विकासका सटरहरु भाडामा लिएर रेष्टुरेण्ट चलाउने निधो गरे । तर, त्यसको शौचालय यति दुर्गन्धित थियो कि भित्र नाक थुनेर जानुपथ्र्यो । मान्छेहरु शौच गर्न आउथे । जान्थे । सफाई नगरेको महिनौ भईसकेको थियो । शाह आफैले त्यो शौचालय सफा गरे । र, त्यसको छेउका सटरहरु भाडमा लिएर बेल्स क्याफे शुरु गरे । धनगढीमा रेष्टुरेण्ट संस्कृतिको विकास भईसकेको थिएन । मान्छेहरु घर बाहिर खाना तथा खाजा खाने संस्कार बसिसकेको थिएन । उनले दुई दशकअघि बेल्स क्याफे खोलेर रेष्टुरेण्ट संस्कृतिलाई धनगढीमा भित्र्याए । बेल्स र टिनटिन रेष्टुरेण्टलाई पछ्याउदै त्यसयता धनगढीमा रेष्टुरेण्ट खोल्ने होड नै चलेको छ ।

धनगढीमा राम्रो किराना पसल थिएन । शाहले सडक बिभाग अगाडि ओम टे«ड कन्सर्न शुरु गरे । जसको अहिले सेतो पुल र हसनपुरमा समेत शाखा सञ्चालनमा छन् ।

May be an image of text that says '01 OM TRADE DEPARTMENTAL STORE Hasanpur, Dhangadhi'

पार्टी र ठूलो सेमिनारहरुका लागि धनगढीमा राम्रो हल थिएन । उनले ओम प्यालेस सञ्चालनमा ल्याए । केही समयको अन्तरालमै उनले तीन वटा व्यवसाय सञ्चालनमा ल्याईसकेका थिए । यी सबै व्यवसाय धनगढीका लागि नौला थिए । पहिलो थिए । 

May be an image of 3 people, balloon and outdoors

उनी यतिमै रोकिएनन, धनगढीमा खाना खाने सफासुग्घर भोजन गृह थिएनन । उनले त्यो पनि सञ्चालन गरे । जसलाई नाम दिए,बेल्स परिकार ।

May be an image of indoor

सफा, आरामदायी, वातानुकूलित र फराकिलो वातावरणमा खाना खान पाईने यत्तिको सुबिधा धनगढीमा बेल्स परिकारभन्दा अन्यत्र त्यसअघि थिएन । जहाँ उनले कफिका पारखीहरुका लागि कफि सप समेत सञ्चालन गरे । धनगढीमा कफिको मेसिन राखेर पहिलो कफि सप सञ्चालन गर्ने श्रेय पनि शाहलाई जान्छ ।

धनगढीमा उनले जे काम गरे । त्यो पहिलो बन्यो । रेष्टुरेण्ट संस्कृति शुरु गरेका शाहले धनगढीमा होटल रेष्टुरेण्टका दक्ष प्रशिक्षित जनशक्तिको अभाव देखे । र, त्यहीबेला धनगढीमा युएसए एकेडेमीले होटल म्यानेजमेण्टको पढाई शुरु गरे । सुदूर पश्चिममा होटल म्यानेजमेण्ट पढाउने शिक्षक पनि शाह नै थिए । जहाँ उनले चार वर्षसम्म होटल म्यानेजमेण्ट मात्र पढाएनन, विद्यार्थीहरुलाई ईन्टर्नसीपको अवसर समेत दिलाए । 

धनगढीमा चार वर्षअघि शाहले सञ्चालनमा ल्याएको टु स्टप अटो वक्र्ससप पनि सुदूर पश्चिमकै ठूलो र सुबिधा सम्पन्न वर्कसप हो । गाडी मर्मतका लागि भारत तथा देशका अन्य भागमा भौतारिनु पर्ने सुदूरपश्चिमवासीलाई एउटै छाना मुनी स्पेयर पार्ट र सर्भिसको सुबिधा दिन टु स्टप अटो वक्र्ससप सञ्चालनमा ल्याएको शाह बताउछन् ।धनगढीमा दुई दशकअघि सञ्चालनमा ल्याएको बेल्स क्याफे भारतीय ग्राहकहरुको आकर्षण देखेपछि शाह उत्साहित भए । र, पलियामा कमल टाकिजमा बेल्स क्याफे सञ्चालनमा ल्याए । यो क्याफे भने धेरै समय चलेन । तर उनी कहाँ रोकिन्थे ? उनले पलियाबाट व्यवसाय लखनउ समेत फैलाए । लखनउको गोमतीनगरमा शाहले ईन्टरनेशनल हाउस अफ मःम सञ्चालनमा ल्याएर त्यहाँका ग्राहकहरुको समेत मन जितेका छन् ।

धनगढीबाट शुरुवात गरेको व्यवसायलाई भारतको उत्तरप्रदेशको राजधानी लखनऊसम्म फैलाएपछि शाहलाई आफ्नै देशको राजधानीमा पनि व्यवसाय गर्ने हुटहुटी भयो । र, अव उनको त्यो हुटहुटीले भक्तपुरमा मूर्त रुप लिदैछ । उनी चाँगुमा रिसोर्ट सञ्चालन गर्ने अन्तिम तयारीमा छन् । जसलाई नाम दिएका छन्, चाँगु भिल्ला । भन्छन्, जेठ भित्र रिसोर्ट सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौ ।

यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए