‘के लत बस्यो’लाई २० लाख भ्युज, गीतसँगै २६ वर्षपछि फेरि चर्चित बने पेला

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

काठमाडौं,८ माघ ।  गायक तिलकसिंह पेलाको राग मालकौंसमा आधारित नेपाली गजल ‘के लत बस्यो’ बोलको गजल गीतलाई ९ दिनमा २० लाखले हेरेका छन्।

पेलाले ‘के लत बस्यो’ बोलको गजल गीतलाई ९ दिन अगाडि आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन्। उक्त गीतले आइतबार अपरान्हसम्म २० लाख भ्युज पाइसकेको छ। उक्त गीत दैनिक २ लाख बढी पटक हेरिँदै आएको छ। 

२० लाख भ्युज पुगेपछि पेलाले अभूतपूर्व प्रेम एवं समर्थनका लागि सम्पूर्ण स्रोता–दर्शकहरूमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेका छन्।बैतडीका पेला २०५३ सालमा कहानी बनेन केही ‘आँसु–१’  र २०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्वम बजारमा ल्याएर चर्चामा आएका थिए।

त्यसपछि गायन छोडर शास्त्रीय संगीतको साधनामा लागेका पेलाले २३ वर्षपछि ‘निर्जन निराकार’ गिति एल्वम ल्याएका थिए।

हाल पेला काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशाला स्थापना गरेर सङ्गीत सिकाइरहेका छन्।  ‘के लत बस्यो’ बोलको गजल गीत पछिल्लो समय निकै चर्चित बनिरहेको छ। गीत चर्चित बनेसँगै लामो समयदेखि गुमनामजस्तै पेला पनि चर्चित बनेका छन्। उक्त गीत सार्वजनिकपछि गजलकार डा।प्रदीप मैनालीको पनि निकै प्रशंसा भइरहेको छ।