Close This

खाद्य प्रविधि धनगढीको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

मंगलबार माघ १०, २०७९/ Tuesday 01-24-23
Paschim Today

धनगढी,१० माघ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा १२ वटा प्रतिकुल नमुना उपर मुद्दा दायर भएको जानकारी दिएको हो।

अनुसन्धान प्रक्रिया पुरा भएका खाद्य तथा दाना ऐन अनुरूप खाद्य निरीक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा गरि ११ र जिल्ला अदालत कैलालीमा १ गरि १२ वटा प्रतिकुल नमुना उपर मुद्दा दायर भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी हरि सिंह बोहराले बताए ।

उनले खाद्य तथा दाना ऐन अनुरूप सङ्कलित नमुनाहरू मध्ये प्रतिकुल पाइएका नमुना र गत आर्थिक वर्ष देखी लगत सरि आएका जम्मा १९ नमुनाका सम्बन्धित उद्योग ब्यवसायीसंग बयान लिने कार्य भइरहेको बताएका छन् ।

यस्तै सरकारी वकिलबाट राय निकासा लिने कार्य अघि बढेको उनको भनाई छ।यस्तै खाद्य तथा दाना नमुना ऐन अनुरूप क्रममा निरीक्षकबाट उद्योग बजार व्यवसाय तथा होटेल रेष्टुरेन्ट अनुगमनका क्रममा ५६ वटा नमुना सङ्कलन भई कारबाही प्रक्रिया अघि बढेको छ। यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र डिभिजन कार्यालयहरूबाट खाद्य ऐन अनुरूप १२५ नमुना सङ्कलित छन्।

यस अर्धवार्षिक अवधिसम्ममा खाद्य बजार अनुगमन ४२ पटक भएको छ । यसै गरी डिभिजन कार्यालय डडेलधुराबाट २ डोटी २७ र बैतडीबाट २१ पटक खाद्य बजार अनुगमन भएको र डडेलधुराबाट ७ डोटी १९ र बैतडीबाट ११ पटक होटेल रेष्टुरेन्टको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी हरि सिंह बोहराले बताए ।

यस्तै प्रयोगशालामा प्राप्त नमुनाहरूको विश्लेषण दस्तुर तथा अनुज्ञा पत्र जारी नवीकरण र सिफारिस दस्तुर बाफत चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा २ लाख ८६ हजार ९०० राजस्व सङ्कलन र यस्तै अर्ध वार्षिकसम्ममा ९ लाख ६५ हजार ४३० राजस्व सङ्कलन गरेको जनाइएको छ । यस अवधिमा कार्यालयले चालु र पुँजीगत गरी जम्मा ६१ प्रतिशत हासिल गरेको छ । डडेलधुराले ३९ प्रतिशत, डोटीले १०० प्रतिशत र बैतडीले ८४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।