Close This

अग्निपीडितलाई राहतको खाँचो

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today

गत बैशाखमा भएको आगलागीबाट कैलालीको कैलारी गाउँपालिकाको विपतपुरमा ठूलो क्षति भयो । आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । बस्तीका केही घरमा आगलागीबाट आंशिक क्षति पु¥यो । खेतमा गहुँको नलमा लगाइएको आगो बस्तीमा सल्किएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि भौतिक रुपमा ठूलो क्षति भयो । स्थानीयका घरमात्र जलेनन्, घरभित्रको अन्नपात, लुगाकपडा, उनीहरुको सम्पत्ति जलेर खरानी भएको थियो । आगलागीबाट कतिपय स्थानीयले धेरै कुरा गुमाए । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार विचल्लीमा परेका छन् ।

अग्निपीडितहरु अहिले पनि समस्यामा छन् । आगलागीबाट घर जलेर नष्ट भएपछि अग्निपीडित मुक्त कमैया टेन्टमुनि चिसो रात बिताउन बाध्य छन् । घर अझै नबनेकाले उनीहरू टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट घर नष्ट भएका अग्निपीडित परिवार विभिन्न सङ्घसंस्थाले सहयोग स्वरुप दिएको त्रिपालमा बस्दै आएका छन् । गर्मी र बर्खायाम त्रिपालमै बिताएका उनीहरु हिउँदको कठ्याङ्ग्रीदो चिसोमा पनि त्रिपालमुनि नै रात बिताइरहेका छन् । शित चुहिने टेण्टमुनि बसेका अग्निपीडितहरु निकै समस्यामा छन् । टेन्टमुनि चिसो रात बिताउँदा बालबालिकासहित ठूला मान्छे पनि बेला–बेलामा बिरामी पर्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कैलारीका अग्निपीडित परिवारलाई घर बनाइ दिने निर्णय यसअघिनै गरेको थियो । अग्निपीडित मुक्त कमैयाको घर एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले बनाउने थालनी गरेको छ । २७ वटा घर निर्माणका लागि शिलान्यास गरिए पनि निर्माणको कार्य भने हालसम्म अगाडि बढाइएको छैन । चार महिनाको अवधिमा घर निर्माण हुने सम्झौता गरिए पनि निर्माणको काम अगाडि नबढेको गुनासो पीडितले गरेका छन् । अग्निपीडित कमैया परिवारका घर निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाउनु पर्छ । पीडितका घर निर्माण गर्नु सकारात्मक हो । तर पीडितका तत्कालका समस्यामा पनि राज्य र सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । कठ्याङ्ग्रीदो चिसोमा रात बिताउन बाध्य भएका पीडितलाई न्यानो लुगालगायतमा सहयोगको खाँचो छ ।