Close This

हाँस्य टेलिसिरियल नसानाडीको छायाङ्कन सुरु

बिहीबार माघ १२, २०७९/ Thursday 01-26-23
Paschim Today

धनगढी,१२ माघ । हाँस्य टेलिसिरियल नसानाडीको छायाङ्कन सुरु भएको छ । जनचेतना सञ्चार समूहद्वारा निर्मित सिरीयल नसानाडीको बिहीबारबाट छायाङ्कन  सुरु भएको हो । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको राजघाटमा छायाङ्कन गर्न सुरु गरिएको संस्थाका अध्यक्ष विजयराज जोशीले जानकारी दिए ।उनले एक औपचारिक कार्यक्रमको आयोजना गरेर सिरीयलको छायाङ्कनको सुरुवात गरिएको बताए ।

उक्त सिरीयलले समाजमा भएका विकृति, विसंगतीविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखेको छ। सुदूरपश्चिमको भेषभुषा र भाषा संस्कृतिलाई समेत जगेर्ना गर्ने र यहाँको रहनसहन लगायतका कुराहरूलाई व्यङ्ग्यात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएको छ । 

सिरीयलको कथा/पटकथा/संवाद/लेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीले गरेका छन् भने  छायाङ्कन देवेन्द्र पाण्डे गरिरहेका छन् । सिरियलको प्रसारण न्यूज नेपाल टेलिभिजन एचडीले गर्ने भएको छ । 

उक्त सिरीयल आउँदो फागुनदेखि प्रसारण गर्ने तयारी रहेको छ ।सिरीयलमा निखिल आचार्य, दीर्घ बहादुर शाही, सुदिप थापा, विजयराज जोशी, नरेशप्रसाद जोशी, मोहन पनेरु, सुरज चन्द, जमुना साउँद, सिता चौधरी, सृजना भट्ट  लगायत कलाकारहरूको  अभिनय रहेको छ  ।

यसको शीर्ष गीतमा स्वर सङ्गीत/सङ्गीत संयोजन वसन्त साधकले गरेका हुन भने उनलाई निसा दहितले अभिनयमा साथ दिएकी  छन्।