Close This

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

आइतबार माघ १५, २०७९/ Sunday 01-29-23
Paschim Today

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ ।गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई शनिवारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो ।

१ लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ गते गायक पेलाको आफ्नै यूट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोतारदर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै संगीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको गजलले यूट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 

संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबूक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने स्रोतारदर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीतरगजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।गायक पेलाको मात्र नभएर गजलकार डा. मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला संगीतका गुरु समेत हुन् ।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विक्रम संवत् २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’ र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।